कम्युनिस्टको विश्वास हुँदैन, प्रचण्डजी पहिला समर्थन फिर्ता लिनुस्ः मदनबहादुर अमात्य

चापागाउँ । नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यले कांग्रेसको काधमा जिम्मेवारी आएको बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अमात्यले कांग्रेसले सुझावका साथ कदम उठाएको भन्दै सभापति शेरबहादुर देउवाको प्रशंसा गरे । उनले कम्युनिस्टहरूलाई विश्वास गर्न नसकिने बताएका छन् ।

‘कांग्रेस असजिलो अवस्थामा उभिएको छ । कम्युनिस्टको बहुमत छ’, उनले भने, ‘कम्युनिस्टलाई मैले कहिल्यै विश्वास गर्दैन । त्यही भएर कम्युनिस्टलाई गाली पनि गर्दैन ।’

‘कम्युनिस्टको ताल हे¥यो त्यही । ओलीलाई गाली गर्ने प्रचण्डले समर्थन फिर्ता लिएको खोइ ? हिम्मत छ भने समर्थन फिर्ता लिएर देखाउनुपर्छ’, सभापति अमात्यले भने, ‘अनि कांग्रेसले विचार गर्छ । सरकार बनाउने भनेको नम्बरिङको गेम हो । गेममा कांग्रेसलाई नम्बर पुग्दैन ।’

‘कांग्रेस सरकारमा जान सक्ने अवस्था छैन । संसदीय व्यस्थामा नम्बर गनिन्छि । संख्या पुग्यो भने मात्रै सरकारमा जान सकिन्छ’, उनले भने, ‘धेरै नेताहरू सरकारमा जाने भन्छन् । तर, सरकारमा जान सकिदैन’, अमात्यले भने, ‘सभापतिले परिपक्वता देखाउनुभएको छ । बजारमा चर्चा भएको छ ।’

उनले कांग्रेस कहिल्यै पनि स्वतन्त्र न्यायपालिकाको विपक्षमा नगएको बताए । ‘सभापति देउवाले अदालतमा मुद्धा छ भने बोल्नु हुँदैन भन्नुभयो । विचारधीन विषयलाई प्रभावित बनाउनु हुँदैन भन्नुभयो’, अमात्यले भने, ‘विचाराधीन मुद्धामा कांग्रेसका केही नेताले बोले । पार्टीका नेताहरूमा प्रजातान्त्रिक चरित्र, संस्कारको कमी छ भन्ने लागेको छ ।’

‘कांग्रेसले सोँच्नुपर्छ । प्रजातान्त्रिक र पार्लियामेन्ट्री पद्धतिका बारेमा बझाउनुपर्छ । के गर्ने ? के नगर्ने कुराको । कांग्रेस प्रजातान्त्रिक पार्टी हो’, उनले भनेका छन् ।

ओलीको कदमको विरोध गरेका सभापति अमात्यले कुनै व्यक्तिको लहडमा दायाँबायाँ गर्नु दिन नहुने बताए ।

‘राजनीतिमा हार्न पनि जान्नु पर्छ । जसले हार्न जान्दैन त्यो व्यक्ति राजनीतिज्ञ बन्दैन’, उनले भने, ‘प्रजातन्त्रवादीहरू हार्न पनि जान्नुपर्छ ।’

खेलाडीहरूमा रहेको अनुशासन राजनीतिक दलका नेताहरूमा हुनुपर्ने उनले बताएका छन् ।

Published : Saturday, 2021 April 10, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया