१३८ प्रहरीले लिए कमाण्डो तालिम, दिक्षान्तमा आईजीपी सहभागी

नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सञ्चालित छैटौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

गर्जाहमा आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हाँसिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

क्षेत्रीले प्रशिक्षार्थीहरूलाई उच्च मनोवल र उच्च अनुशासनका साथ कार्यक्षेत्रमा नागरिक सेवालाई सर्वोपरी ठानी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

तालिममा हासिल गरेका ज्ञान, सीप, कौशललाई व्यवहारमा अक्षरस लागू गरी संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उनले बताए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।

उनले महाविद्यालयमा सञ्चालन हुने तालिमद्वारा उत्पादित जनशक्तिले देशमा उत्पन्न हुने सशस्त्र विद्रोह लगायत विपदको परिस्थितिमा काम गर्न सक्ने जानकारी दिए ।

तालिम संयोजक प्रहरी उपरीक्षक वीरबहादुर ओलीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १६ जना र प्रहरी जवान १ सय १६ जना गरी जम्मा १ सय ३८ जनाको सहभागिता रहेको जानकारी दिए ।

समारोहमा प्रशिक्षार्थीहरूले इमिडियट एक्सन ड्रिलअन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्रबहादुर धानुक, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको साथै सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

दिक्षान्त समारोह पश्चात प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित कार्यक्रमबीच सोही कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिए ।

निर्देशन सम्बोधन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक कार्की र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धानुक समेत उपस्थित रहेका थिए ।

Published : Sunday, 2021 April 4, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया