वीपीसँगै संघर्षमा उत्रिएका साहसी नेता खुमबहादुर खड्काः बालकृष्ण खाण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले केपी ओलीमा निरंकुशता हाबी भएको टिप्पणी गरेका छन् ।

स्व.खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसका अवसरमा शनिबार राप्ती समाज क्यानाडाले आयोजना गरेको भर्चुअल जुम अन्तरक्रियामा खाणले ओलीले संविधान विपरित संसद भङ्ग गरेर जनताको अधिकार खोस्न खोजेको आरोप लगाए । उनले ओलीको असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेर जनताको अधिकारलाई स्थापित गरिदिएको बताए ।

ओली प्रधानमन्त्री पदको शपथ लिएकै दिनदेखि संविधानमाथि खेलवाड गरेको खाणले आरोप लगाए । ओलीको असंवैधानक कदमहरू संसद भङ्ग गर्नेसम्मको हर्कतमा पुगेरको उनले बताए ।

ओलीले मुलुकमा अमर्यादित कार्यहरू गरेको भन्दै नेता खाणले जनताको हकअधिकार खोस्ने दुस्प्रयास गरे कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।

प्रमुख सचेतक खाणले स्व.खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्व.खड्काले कांग्रेसमा पुर्‍याएको योगदानको उच्च कदर गर्नुपर्ने बताए ।

‘स्व.खड्का एक अदम्य इच्छाशक्ति भएको व्यक्ति, नव युवक, युवाकालदेखिनै राजनीतिमा संघर्षशील जीवनयापन गर्नु भएको नेता भनेर हामीले चिन्छौँ’, खाणले भनेका छन् ।

‘वीपी कोइरालासँगै बिक्रम संवत २०३३ साल पुसमा सहमति, सहकार्य, मेलमिलापको नीति बोकेरसँग खुमबहादुर खड्का नेपाल आउने व्यक्तिमा पर्नु हुन्छ’, खाणले भनेका छन् ।

कांग्रेस नेता खाणले स्व.खड्कालाई सदैब पार्टीलाई गतिशील बनाउन केन्द्रिकृत हुने नेताको रुपमा चित्रण गरे ।

‘प्रजातन्त्र भनेको बिगिनिङ अफ द मुभमेन्ट रहेछ । स्व.खुमबहादुर खड्काले कांग्रेस कम्जोर भयो भने लोकतन्त्र कम्जोर हुन्छ, लोकतन्त्र कमजोर हुँदा देश र जनता कमजोर हुन्छ भन्ने मान्यता सधैँ राख्नु हुन्थ्यो’, नेता खाणले भनेका छन् ।

नेता खाणले नेपाली कांग्रेसका योद्धाहरूको विषयमा धेरै अन्वेषण गर्न र दस्ताबेज बनाएर लिपिबद्ध गर्नुपर्ने संस्थागत दायित्व भएको बताएका छन् ।

कार्यक्रमको सञ्चालन राप्ती समाज क्यानडाका सदस्य निराजन थापाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, नेपाल तरुण दल राप्ती गाउँपालिकाका अध्यक्ष आशिष पौडेललगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 April 4, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया