ओलीका समर्थकहरू मण्डलेहरू मात्रैः खतिवडा, सप्तरी कांग्रेसका नेताहरूसँग भेटघाट

राजविराज । नेपाली कांग्रेस नेता रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीका समर्थकहरू मण्डलेहरू मात्रै रहेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सप्तरीको राजविराजमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले तीन वर्षको समयमा जनतालाई ओलीले निराशभन्दा अरु केही नदिएको बताए । उनले लोकतान्त्रिक शक्तिहरू मिलेर ओली र कम्युनिस्ट चरित्रलाई परास्त गर्न अपील गरेका छन् ।

‘अहिले सरकारका समर्थकहरू हिजोका मण्डले र चुण्डले भएका छन् । त्यस्तो शक्तिलाई हराउनुपर्छ’, कांग्रेसका युवा नेता खतिवडाले भनेका छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले ओली सरकारले केही गर्न नसकेको बताएका छन् ।

‘ओलीले बोलेपछि नेपालमा अब केही कुरा कमी हुँदैन । नपाउनेले रेल पाउँछ । नपाउनेले तेल पाउँछ । नपाउनेले पानी जहाज पाउँछ । सबै सुनको भर्‍याङबाट स्वर्ग जान पाइन्छ । सबै अधिकारहरू प्राप्त हुन्छन् भन्ने हामीले कल्पना गरेका थियौँ’, खतिवडाले भनेका छन् ।

‘तीन वर्षको अवधिमा ती सबै सपनामा मात्रै सीमित रहे । विपनामा जनताले केही पाएनन् । निराशा बाहेक तीन वर्षको अवधिमा नेपाली जनताले केही पाएनन्’, उनले भने, ‘नेपाली जनताका सपनाहरू ढाल्ने काम मात्रै यो सरकार गरेको छ ।’

खतिवडाले तराई मधेसलाई कांग्रेसले सधैँ प्राथमिकतामा राखेको बताएका छन् । उनले कांग्रेसबाट हुर्किएका नेताहरूले मधेसवादी दलहरू खोलेर बसेको बताए ।

‘हिजोका दिनमा कांग्रेसलाई मधेस विरोधी भनेर देखाउन खोजियो’, खतिवडाले भने, ‘विजयकुमार गच्छदार, जयप्रकाशप्रसाद गुप्ता, महन्थ ठाकुर, रामवरण यादव, शरदसिंह भण्डारीदेखि सबै मधेसवादी दलमा गएका मान्छेहरू पनि नेपाली कांग्रेसमै हुर्किएर जानुभएको हो ।’

‘गजेन्द्रबाबु (गजेन्द्रनारायण सिंह) पहिला कांग्रेस हुनुहुन्थ्यो’, उनले भने, ‘उपेन्द्र यादवदेखि बाहेकका अन्य स्कुलिङ नेपाली कांग्रेसबाटै थियो ।’
नेता खतिवडाले कांग्रेसले बहुदलीय पद्धतिमा लाग्नेलाई छुट दिने गरेको भन्दै कांग्रेसका कारण लोकतन्त्र बलियो भएको बताए ।

कांग्रेस नेता खतिवडाले संविधान बनाउने लोकतान्त्रिक शक्तिहरू मिलेर जानुपर्ने पनि बताएका छन् ।

कार्यक्रममा ओखलढुंगा कांग्रेसका नेताहरू वडाध्यक्षद्वय कुलबहादुर श्रेष्ठ, विष्णु मगरलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

यसैबीच, नेता खतिवडाले सप्तरी कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन् । पार्टी कार्यालयमा पुगेरै खतिवडाले कांग्रेसको महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरूसँग भलाकुसारी गरेको खतिवडाका स्वकीय सचिव हुकम राईले जानकारी दिएका छन् ।

खतिवडा सिरहासहितका जिल्लाका पार्टीका नेता कार्यकर्ताहरूसँग भेट गरेर काठमाडौं आउने कार्यक्रम रहेको राईले बताए ।

Published : Sunday, 2021 April 4, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया