ललितपुरको चापागाउँमा खेलाडी र कांग्रेसको नजर, चैत २६ गते देउवाले प्रतियोगिताको उद्घाटन गर्ने

लगनखेल । वीर गणेशमान सिंह चौथो खुल्ला राष्ट्रिय किक वक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

चैत २६, २७ र २८ गते नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग र ललितपुर किक बक्सिङ संघ संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन चैत २६ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने खेलकुद विभागका सचिव एवम् प्रतियोगिताका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए ।

समापन कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का रहेका छन् । खड्काले विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नेछन् ।

कार्यक्रममा सभापति देउवाका साथै महामन्त्री खड्का, खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेत, प्रवक्ता विश्वप्रकाश शर्मा, तरुण विभागका प्रमुख शंकर भण्डारी, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, शिव हुमागाइँ, प्रदीप पौडेल, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्वसांसद रामहरि खतिवडा, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल लगायतको उपस्थिति रहनेछ ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, करोत, तेक्वान्दो, उसु, बक्सिङ, म्वाइथाइ, फुल कन्ट्याक कराते, आईटीएफ, के वान, रेवानलगायतका टिम सहभागी हुने विभागका सचिव महर्जनले जानकारी दिएका छन् ।

पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुल्ला तौलतर्फको समूहबीच खुल्ला प्रतिस्पर्धा हुने पूर्वराष्ट्रिय खेलाडी एवम् ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिएका छन् ।

महिलातर्फ ५५, ६०, ६५ र खुल्ला तौल समूहबीच प्रतिस्पर्धा गराइने संघका अध्यक्ष महर्जनले बताए ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले प्रत्येक समूहमा प्रथम हुने खेलाडीलाई ३० हजार, दोस्रो हुनेलाई १५ हजार, तृतीय हुने दुई–दुई जना खेलाडीलाई ८–८ हजार नगद पुरस्कार प्रदान गरिने बताए ।

सबैभन्दा धेरै स्वर्ण पदक हासिल गर्ने टिमलाई नगद एक लाख, दोस्रो टिमलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी महिला र पुरुषलाई २५–२५ हजार पुरस्कार प्रदान गरिनेछ ।

खेलाडीलाई खान, बस्नलगायतको सुविधा पनि रहेको छ । कार्यक्रमको उद्घाटनका बेला विभिन्न झाँकीहरू पनि प्रस्तुत गरिनेछ । प्रतियोगिता व्यवस्थापनका लागि सुरक्षा, स्वयं सेवक, भोजन, मञ्च व्यवस्थापन लगायतका समितिहरू बनाइएका छन् । प्रतियोगिता प्रचार प्रसादका साथै पाहुना र खेलाडीहरूको स्वागतका लागि स्वागत गेटहरू निर्माण गरिएको छ ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँस्थित प्याङगाउँ चौरमा प्रत्येक वर्ष प्रतियोगिता हुँदै आएको छ । यो प्रतियोगिता ठूलो धनराशीको रहेको छ ।

Published : Friday, 2021 April 2, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया