माओवादी होइन, सेनाको मुखबाट पत्रकार बचाउने विपुल पोखरेल

देवेन्द्र बस्नेत

तत्कालीन शाहीनेपाली सेनाको ब्यारेक । मुकुण्डो पहिराइदिएर कोठामा बन्धक बनाइएका केएल पीडितले आफ्नो ‘जीवन’ मागिरहे ।

सेनाले लगाउने आरोपलाई ‘नाई नास्ती’ गरिरहेका केएललाई आफ्नो ‘ईन्कार’लाई सेनाले निर्दोषको ‘प्रमाण’ मान्ला भन्ने रत्तिभर विश्वास लागेकै थिएन ।

फलतः उनकै शब्दमा भन्दा उनले सेनाको ब्यारेक बाट सकुशल घर फिर्ता हुन्छु भन्ने आश मारिसकेका थिए । त्यहि बन्द कोठामा सेनाको ‘वाकीटकी सेट’मा उनले सुनेको एक नाम (विपुल पोखरेल) ले उनलाई प्राण थपिदिएको महशुस भयो ।

केएलले सम्झिए ‘म मरिसकेको थिएँ, विपुलजीको नाम वाकीटकीमा सुन्दा बल्ल मेरो शरीरमा प्राण थपियो, बल्ल म होसमा आएँ ।’

उनै विपुल केएलको रक्षाका लागि कवच बनेर आर्मी ब्यारेक छिरे । सेनासँग केएलको रक्षाका लागि बिन्ती बिसाएँ, अनि पूर्ण जिम्मा लिँदै केएललाई सकुशल रिहा गराए ।

घोराहीबाट प्रकाशन हुँदै आएको नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक थिए केएल पीडित । यो पत्रिकालाई राज्यले तत्कालीन बिद्रोही पक्ष माओवादी पक्षधर पत्रिकाका रुपमा हेरिरहेको थियो, अनि कार्यकारी सम्पादक केएललाई माओवादीको कार्यकर्ताका रुपमा ।

२०५८ मा माओवादीले गरेको घोराही आक्रमणले केएल अनि उनको पत्रिकालाई झनै ठूलो धक्का लाग्यो । घोराहीमा आएको आक्रमणलाई ‘क्रान्तिको विजय’का रुपमा समाचार प्रकाशन भएपछि प्रशासनले पत्रिका बन्द गर्न निर्देशन दियो ।

अनि राज्यको खोजीमा परे उनै कार्यकारी सम्पादक केएल । ‘घोराही आक्रमण २०५८ मंसिर ८ पछि २०५८ मंसिर ११ मा प्रशासनको निर्देशानुसार हाम्रो पत्रिका बन्द भयो’, केएलले भने, ‘अनि म राज्यको नजरमा बिद्रोही कहलिएँ, म उसको खोजीमा परेँ ।’

सुरक्षा संयन्त्रले बिद्रोहीको बिल्ला भिराइदिएर आफ्नो खोजी गर्न थालेपछि केएल पत्रकारिताबाट पलायन त भएनै उनी आफ्नो सुरक्षाका लागि भाग्नु पर्ने अवस्था आयो ।

‘राज्य पक्षले मेरो खोजी ब्यापक पार्न थालेपछि म लुकेर बस्नुको बिकल्पै भएन, म भारतसम्म पुगेँ’, उनले भने, ‘१४ महिनासम्म म यसैगरि पलायन भएँ ।’

उनको १४ महिना गुमनाम बसाइँपछि युद्धबिराम भयो, राज्य र बिद्रोही पक्षबीच वार्ता भयो । युद्धबिरामपछि शान्तिको लामो श्वास फेर्दै उनी भारतबाट घर फिर्ता भए ।

वार्ता भंग भयो, फेरि उहि द्वन्द्वको श्रृंखलाले निरन्तरता पायो । ‘वार्ता भंग भएपछि अब म के गर्ने ?’, केएलले भने, ‘फेरि भागौँ कि यहिँ बसौँ अन्यौलमा परेँ ।’

आफन्त, सहकर्मीहरूको सल्लाहअनुसार उनी घरमै बस्न थाले । अफसोँच राज्यको नजरमा बिद्रोही कहलिएका केएल २०६० अन्तिमतिर तत्कालीन सेनाको गिरफ्तारीमा परे ।

‘म घोराहीको मेन चोकबाट घरतर्फ जाँदै थिएँ, सादा पोशाकमा आएका पाँच–छ जनाको समूहले मलाई घेरा हाल्यो’, उनले भने, ‘अनि मलाई पकडेर ब्यारेकमा जानु पर्‍यो भन्न थाले ।’
केएलले यो बेला बुझिसकेका थिए कि म राज्यको गिरफ्तारीमा परेँ भन्ने ।

केएलले आँफू निर्दोष रहेको भन्दै उनीहरूसंग प्रतिवाद गरिरहेकै थिए, तर सेनाको गाडी आइपुग्यो अनि उनलाई त्यहि गाडीमा हालियो ।

‘मैले म निर्दोेष छु भनेर त्यो समूहसँग कुरा गरिरहेको थिएँ, त्यति बेलै सेनाको सेतो गाडी आइपुग्यो’, उनले भने, ‘अनि मलाई गाडीमा हालियो ।’ घोराही बजारका बिभिन्न भागमा गाडीमै उनलाई घुमाएपछि अहिलेको शहीदगेट नजिकै पुर्‍याएर आँखामा रुमाल बाँधियो ।

अनि गाडीमा रहेका सेनाले भन्न थाले ‘ठूलो कमाण्डर समात्यौँ, हामी सफल भयौँ ।’
‘त्यसपछि मैले सोँचे अब मलाई मार्ने नै भए भनेर’, उनले भने, ‘घर परिवार अनि साना छोराहरूलाई सम्झिएँ ।’

केएललाई थाहा थिएन, आफूलाई कहाँ लैजाने हुन् ? केहिबेरपछि उनलाई गाडीबाट झारियो । आफै हिँड्न भनियो । उनी लड्थे । ‘मलाई पुर्‍याएको ठाउँ घोराहीस्थित आर्मी ब्यारेक रहेछ’, उनले भने, ‘ब्यारेकमा ठूला खाल्डा हुँदारहेछन्, मेरो आँखामा पट्टि थियो, म लड्दैभित्र पुगेँ ।’

सेनाले उनको केरकार गर्न थाल्यो । यो क्रम झण्डै चार घण्टासम्म चल्यो । केएलले आफू निर्दोष रहेको जवाफ दिइरहे । उनलाई फिटिक्कै लागेको थिएन आफू सकुशल घर फिर्ता हुन्छु भन्ने ।

जीवनको अन्तिम घडीमा आफूलाई उभ्याएको महशुस गरिरहेका केएलले सेनाको वाकीटकीमा विपुल पोखरेलको नाम सुने । वाकीटकीमा उनले सुने ‘नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल आउनु भएको छ ।’

पोखरेल त्यो बेला पनि नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष थिए । आफूलाई मृत्यु पथमा हिँडिरहेको महशुस गरेका केएल बल्ल ब्युँझिए । उनले भने ‘विपुलजीको नाम सुन्दा बित्तिकै म अब बाँच्छु भन्ने आश पलायो ।’

पोखरेलको नामले उनलाई जीवित तुल्याउने आशा जगाउनुको प्रमुख कारण थिए पोखरेलका यसअघिका मिशनहरू । संकटकालमा पत्रकारहरूमाथि भएका ज्यादतीबिरुद्ध पोखरेलले देशका बिभिन्न स्थानमा मिशनको नेतृत्व गरेका थिए ।

यिनै मिशनका क्रममा कैयन पत्रकारहरूलाई न्याय दिलाएका पोखरेल आफ्ना लागि पनि न्यायमूर्ति बन्ने आशा केएललाई उँचो बन्यो ।

‘त्यो बेला पत्रकारहरूमाथि भएका ज्यादतीबिरुद्ध विपुलजीले धेरै स्थानमा मिशनको नेतृत्व गर्नुभएको थियो, अझ विशेष गरि राज्य पक्षले गरेका ज्यादतीका विरुद्ध विपुलजीको मिशन केन्द्रित थियो’, केएल भन्छन्, ‘त्यो बेला नेपाल पत्रकार महासंघ भनेकै विपुल पोखरेल हो भन्ने आम सञ्चारकर्मीहरूले बुझेको अवस्था थियो ।’

केएलको रिहाईका लागि सेनाको ब्यारेक प्रवेश गरेका द्वन्द्वकालमा पत्रकार जोगाउने उनै विपुललाई सेनाले ढाँट्न खोज्दै थियो । उसले केएल पीडित नाम गरेको पत्रकार ब्यारेकमा नभएको भनेर पोखरेललाई फर्काउन खोजिरहेको थियो ।

कैयन यस्ता मिशनको नेतृत्व गरेका पोखरेलले ब्यारेक नेतृत्वको त्यो कुरालाई पत्याएनन् । उनले स्रोत पहिल्याए । अनि बल्ल ब्यारेकले भन्यो ‘केएलजी यहिँ हुनुहुन्छ ।’ ब्यारेकले केएलको रिहाईका लागि केहि सर्त राख्यो ।

पहिलो सर्त थियो ‘केएल माओवादीमा लाग्न नहुने वा माओवादीको कुनै पनि कार्यमा संलग्नता, साथ, सहयोग नहुने ।’ पोखरेलले यो सर्तको पूर्ण जिम्मेवारी आँफै लिए ।

‘सबैभन्दा ठूलो कुरा त विपुलजीले मेरो पूर्ण जिम्मेवारी लिएर हस्ताक्षर गर्नुभयो’, केएल भन्छन्, ‘मैले त्यसपछि केहि दायाँबायाँ गरेको भए त्यसको भागिदार उहाँ बन्नु हुन्थ्यो, फलतः उहाँ मेरो लागि भगवान बराबर हो ।’

सेनाले बोलाएको खण्डमा ब्यारेकमा हाजिर हुनुपर्ने र दाङ छोड्न नपाइने अन्य सर्तमा पनि विपुलले आफूले जिम्मेवारी लिए । यो सहमति पश्चात केएल रिहा भए ।

‘विपुलजी नभएको भए म पक्कै मरिसकेको हुन्थे’, उनले भने, ‘म ब्यारेकमा थुनिएको छु भनेर उहाँले थाहा पाउनुनै मेरो सबैभन्दा ठूलो भाग्य हो, शायद यो कुरा उहाँलाई थाहा नहुँदो हो त, आज तपाईको र मेरो कुरा हुने नै थिएन ।’

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष पीडितको रक्षाकवच बनेका पोखरेल संकटकालमा पत्रकारहरूको रक्षकका रुपमा दह्रो बनेर उभिए । पत्रकारहरूमाथि भएको ज्यादती, गिरफ्तारीका लागि उनि कैयन दिनरात गाउँ, जंगलमै बिताए ।

उनलाई कुन पत्रकारको कुन बिचार आस्था ? उनी ‘सबै पत्रकार एक’ भन्ने मानसिकताबाट कहिल्यै बिचलित भएनन् । फलतः डेकेन्द्र थापा, दुर्गा थापा, रामेश्वर बोहरा लगायतका पत्रकारहरूको बैचारिक आस्था पहिल्याउन खोजेनन् ।

फलतः उनीहरूलाई न्याय दिलाउनका निम्ति संकट मोलेर मिशनको नेतृत्व गरे । उमा सिंहको हत्यापछिको अवस्था बुझ्ने पहिलो मिशनमा पनि उनै पोखरेल थिए । आफू मिशनमा जाँदा मात्रै हैन, आफू नहुँदा मिशनमा जाने अन्यलाई उनले सिकाइरहेका हुन्थे ।

बीरेन्द्र साहको मिशनमा जानेहरूलाई पोखरेलले मिशनले खेल्नुपर्ने भूमिकाका लागि सुझाव दिएका थिए । यसैगरि तत्कालीन माओवादीले कारवाही गर्ने भनेर बाँकेका चार जना पत्रकारमाथि भौतिक कारवाही गरिएको निर्णय उल्ट्याउन उनी बर्दियाको गाउँमै पुगेर बसहमा उत्रिएका थिए ।

उनकै संवाद पश्चात माओवादी आफ्नो निर्णयबाट पछि हटेको थियो । पत्रकारहरूको भौतिक सुरक्षासँगै पेशागत सुरक्षाका निम्ति थालिएका बिभिन्न आन्दोलन र अभियानको नेतृत्व गरेका पोखरेल नेपाल पत्रकार महासंघको आगामी नेतृत्व हाँक्ने दौडमा छन् ।

दुई कार्यकाल महासंघको उपाध्यक्ष बनिसकेका पोखरेल आगामी अध्यक्षका लागि चुनावी मैदानमा होमिएका हुन् ।

Published : Wednesday, 2021 March 31, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया