कांग्रेस संसदीय दलद्वारा बाग्लुङ घटनाको विरोध, दोषीलाई कारबाहीको माग
काठमाडौं । नेपाली कांग्रेस संसदीयका प्रमुख सचेतक बालकृष्ण खाणले बाग्लुङमा भएको हत्याको घटनाको विरोध गर्दै दोषीहरूलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
खाणले सोमबार विज्ञप्ति जारी गरेर बाग्लुङ कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय सदस्य दीपक परियारको कुटपिटबाट हत्या भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
चैत १५ गते आइतबार फागुपूर्णिमाका दिन बाग्लुङ्ग र प्यूठान जिल्लाको सिमानामा पर्ने बडीगाउँ गाउँपालिका– १० बल्देको धुरीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको खाणले जनाएका छन् ।
‘नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारलाई सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरूलाई घाइते बनाइएको घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ’, खाणले भने, ‘घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गर्दछ ।’
उनले भनेका छन्, ‘घटनामा परी घाइते हुनु भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित स्वास्थ्य उपचारका लागि सरकार समक्ष माग गर्दछ ।’
कांग्रेसका प्रमुख सचेतक खाणले ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया