मंगलबारदेखि देशभरिका शिक्षण संस्था चार दिन बन्द
काठमाडौं । सरकारले देशभरिका शिक्षण संस्थाहरू चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको आकस्मिक बैठकले शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो ।
देशभरिका शिक्षण संस्थाहरू मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द रहनेछ ।
वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्री श्रेष्ठले जनाएका छन् ।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेका थिए ।
बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।
जल तथा मौसमविदका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ । हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । डढेलोका घटना बढेकाले वायु प्रदुषित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो ।
मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घर भित्र नै बस्न अनुरोध गरेको छ । घर बाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान सर्वसाधारणलाई अपील गरेको थियो ।
केही दिन यता प्रदुषण बढेसँगै काठमाडौंका उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढेको र स्वास्थ्य समस्यामा जटिलता थपिँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले बेलाबेलामा हात, मुख र आँखा सफा गर्न पनि आग्रह गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया