कांग्रेस नेतृ एवम् संविधान सभा सदस्य भण्डारीको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधन भएको छ ।

७१ वर्षीया भण्डारीको सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

स्व.भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

स्व.भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

संविधान सभा सदस्य लक्ष्मीदेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको सभापति देउवाले स्मरण गरेका छन् ।

स्व.भण्डारीमा देउवाले श्रद्धाञ्जलि अर्पण गरेका छन् । स्व.भण्डारीको आत्माको चिर शान्तिको कामना गर्दै देउवाले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Published : Monday, 2021 March 29, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया