ललितपुरका जनताको सेवा गर्दै कांग्रेस नेता महर्जन, युवाहरूको अपार समर्थन

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले आफूलाई जनताको सेवामा समर्पित गरेको बताएका छन् ।

प्रदेश निर्वाचनमा ललितपुरको क्षेत्र नं. १ ‘ख’बाट झिनो मतले पराजित भएका महर्जन आफू पराजित भएको छनक मतदाताहरूलाई दिएका छैनन् । आफ्नो क्षेत्रका मतदाताहरूको सेवामा उनी सधैँ लाग्ने गरेका छन् । ‘म पराजित भएर के भयो । जितेको भए पनि जनताको सेवा गर्ने हो । पराजित भए पनि जनताको सेवा गर्ने हो’, उनले भने, ‘मतदाताको माया सधैँ पाएकै छु । बरु पार्टीभित्रका केही अवसरवादीले सधैँ कांग्रेसलाई धोका दिएका छन् ।’

प्रदेश सभाको निर्वाचनमा पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण अन्तर्घातमा परेर महर्जन पराजित भएका थिए । उनलाई कुनै गुनासो छैन ।

ललितपुर जिल्लाको चापागाउँमा जन्मिएका महर्जन सानै उमेरदेखि खेलकुदमा रुचि राख्थे । उनी करातेका अन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट खेलाडीका साथै अन्तर्राष्ट्रियस्तरको राम्रो प्रशिक्षक र रेफ्री पनि हुन् । महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ३ दर्जनभन्दा बढि स्वर्ण पदक हासिल गरीसकेका छन् । उनले उत्पादन गरेका खेलाडीहरू अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मेडल जितेर देशको नाम राखेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष महर्जनले खेल क्षेत्रको विकासमा ठूलो योगदान दिएका छन् । खेल क्षेत्रमा हुने सानाभन्दा साना गतिविधिमा पनि महर्जनले रुचि देखाउँछन् ।

ललितपुरका गरिव, दुःखी सबैलाई सहयोग गर्नु उनको दिनचार्यमा पर्छ । अस्पतामा लगेर बिरामीको भर्ना, उपचार खर्चमा डिस्काउन्ट, रकम जुटाइदिनेलगायतका सहयोग उनले गर्दै आएका छन् । आइतबार मात्रै महर्जनले तीन जना बिरामीहरूलाई अस्पतालमा पुगेरै भेटेका छन् । उनीहरूको उपचारमा कुनै समस्या पर्ने भए सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

०७२ सालको भूकम्पका बेला महर्जनले ललितपुरको दक्षिणी भेगका समस्यामा परेका जनतालाई खाद्यान्न, जस्तापाता, त्रिपाललगायतका सामग्री वितरण गरेका थिए । घरहरू पुनःनिर्माणमा पनि उनले सहयोग गरेका थिए ।

कोरोना महामारीका बेला लकडाउनबाट समस्यामा परेका जनतालाई कांग्रेस नेता महर्जनले लगनखेल डोजोमा दुई महिनासम्म निःशुल्क खाना खुवाएका थिए । उनले ललितपुर जिल्लाका विभिन्न स्थानमा फुडबैंक स्थापना गरेर खाद्यान्न सहयोग गरेका थिए । उनले ‘नहुनेले लिएर जाऔँ, हुनेले दिएर जाऔँ’ भन्ने नाराका साथ चापागाउँसहितका विभिन्न स्थानमा दुई महिनासम्म फुडबैंक चलाए ।

उनको फुडबैंक रोक्न कम्युनिस्टले प्रहरी प्रशासनलाई दवाव दिएर अवरोधको प्रयास गरेका थिए । महर्जनले ती अवरोधहरू बेवास्ता गर्दै आफ्नो सहयोगको अभियानलाई जारी राखे ।

चापागाउँको ईखा पोखरी पुनःनिर्माणदेखि पोखरी नजिकै रहेको ३ सय वर्ष पुरानो चन्द्र भैरवको मन्दिर पनि महर्जनकै पहलमा पुनःनिर्माण भएको थियो ।

बागमती गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष विजयकुमार लोँले महर्जनले ललितपुरमा गरेको सहयोग र विकासको कामबाट युवाहरू खुसी भएको बताएका छन् ।

‘ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’मा हाम्रा युवा नेता मीनकृष्ण महर्जनलाई कांग्रेसकै नेताहरूको अन्तर्घातका कारण पराजय भोग्नु परेको हो’, वडाध्यक्ष एवम् कांग्रेसका नेता लोँले भने, ‘अब यस्ता अन्तर्घातीहरूलाई १४औँ महाधिवेशनमा ठेगाना लगाउनुपर्छ ।’

कोञ्ज्योसोम गाउँपालिका–४ का वडाध्यक्ष तीर्थबहादुर घलानले ललितपुर क्षेत्र नम्बर १ भनेको दोस्रो कर्णाली रहेको भन्दै यस क्षेत्रको विकासका लागि महर्जनले जितेर आउनै पर्ने बताए । ‘ललितपुरको क्षेत्र नं. १ लाई दोस्रो कर्णाली भन्ने गरिन्छ । यहाँको विकास गर्न मीनकृष्ण महर्जनले सांसदमा जितेर आउनुपर्छ’, घलानले भने, ‘ललितपुरमा धेरैले जितेका छन् । विकास हुन सकेन । कम्युनिस्टहरूले त झन् सिन्को भाँच्न सकेका छैनन् । मीनकृष्ण महर्जन पराजित हुनु ललितपुरको बिडम्बनानै मान्नुपर्छ ।’

गोदावरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष गिरीप्रसाद तिमल्सिनाले अब मीनकृष्ण महर्जनको विकल्प नरहेको बताए । ‘ललितपुरका १ नम्बरका जनता अब सचेत भई सकेका छन्’, उनले भने, ‘स्वयम् कम्युनिस्टमा भोट हाल्ने जनताहरूले नै अब विकल्प मीनकृष्ण महर्जन भन्न थालेका छन् ।’ कम्युनिस्टहरूको व्यक्तिवादी चरित्रका कारण स्थानीय मतदाताहरू महर्जन पराजित भएकोमा पछुताउन थालेका छन् ।

नेपाली कांग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठले चुनावको समयमा कांग्रेसकै नेताहरू मीनकृष्ण महर्जनलाई हराउन विपक्षी एमालेका उम्मेदवारसँग पैसाको बार्गेनिङ गरेर भोट सूर्यमा हालेको आरोप लगाए । उनले भने, ‘एमाले र माओवादीका उम्मेदवारसँग कांग्रेसका केही अन्तर्घातीले पैसा लिएर १ भोटको ५ हजारसम्म खाएको हामीसंग प्रमाण छ । कम्युनिस्टसँग बिक्नेहरूलाई कांग्रेसले राम्रोसँग चिनेको छ ।’

नेपाली कांग्रेस गोदावरी नगरपालिका वडा नम्बर ११ सभापति सागर चित्रकारले भने, ‘दुनियाँ कसले के–के भन्ला तर, हाम्रो चापागाउँवासी त मीनकृष्ण महर्जनलाई भगवान नै मान्छन् । उहाँले आफ्नो गाउँ, ठाउँ, क्षेत्र र जिल्लाको लागि धेरै राम्रा काम गर्नुभएको छ ।’

उता, कांग्रेसका युवा नेता महर्जनले आफ्नै पहलमा युवा र खेलाडीहरूको सहयोगमा चापागाउँमा हरेक वर्ष किक बक्सिङको प्रतियोगिता गर्दै आएका छन् । उनको यो अभियानमा ललितपुरका युवा र खेलाडीहरूले विगत चार वर्षदेखि लगातार सहयोग गर्दै आएका छन् । युवा नेता महर्जनले भने, ‘मलाई ललितपुरका जनताको साथ, समर्थन र माया छ । मैले गर्ने सामाजिक काम र प्रतियोगिताहरूमा विशेष गरेर युवाहरूको साथ रहन्छ ।’ महर्जनले पनि ललितपुरका जनताले भन्नेवित्तिकै आफू कुनै पनि बेला सहयोग गर्न तयार भएर बसेको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्सिङले संयुक्त रुपमा चौथो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता आयोजना गर्न लागेका छन् ।

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको चैत २६ गते उद्घाटन गर्नेछन् ।

खेलकुद विभागका सचिव महर्जन प्रतियोगिताको संयोजक पनि हुन् । गोदावरी नगरपालिकाको चापागाउँमा ३ दिनसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, कराते, तेक्वान्दो, बक्सिङ, उसु, मुआई थाई, फुल कन्ट्याक्ट कराते लगायतका खेलाडीले भाग लिने ललितपुर किक बक्सिङ संघ अध्यक्ष पूर्व खेलाडी विनोद महर्जनले बताएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र खुल्ला गरि ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

महिलामा ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला गरि ४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहको विजेताले ३०, दोस्रो हुने खेलाडीले १५ र तेस्रा हुने दुई खेलाडीले जनही ८ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सबैभन्दा बढि स्वर्ण पदक हासिल गर्ने टोली टिम च्याम्पियन हुने र त्यो टोलीले १ लाख, दोस्रो टोलीले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपियाँ प्राप्त गर्नेछ ।

Published : Monday, 2021 March 29, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया