नेपाली सेनालाई भारतीय सेनाद्वारा कोरोनाविरुद्धको भ्याक्सिन उपहारमा प्रदान

काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले कोरोनाविरुद्धको एक लाख भ्याक्सिन सहयोग दिएको छ ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भारतीय सेनाद्वारा १ लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन सहयोग आएको बताए ।

नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरूको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

यसअघि भारत सरकारले नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन सहयोग गरेको थियो ।

भारत सरकारले माघ ८ गते छिमेक नीतिअन्तर्गत नेपाललाई पहिलो चरणमा उपहारस्वरुप १० लाख डोज भ्याक्सिन सहयोग गरेको थियो ।

Published : Monday, 2021 March 29, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया