कांग्रेस नेता जोशीको परिवारद्वारा कम्युनिस्ट सरकारको दश लाख लिन अस्वीकार

काठमाडौं । कम्युनिस्ट सरकारले दिएको दश लाख उपचार खर्च नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीका परिवारले अस्वीकार गरिदिएका छन् ।

अलोकप्रिय निर्णय र असंवैधानिक कदमहरूका कारण चौतर्फी आलोचना र दवावमा परेको खड्गप्रसाद ओलीको सरकारले बिहीबार जोशीको उपचारका लागि दश लाख रुपियाँ दिने निर्णय गरेको थियो ।

जोशीलाई मस्तिष्कघात भएपछि उपचार गराइरहेका छन् । जोशीको उपचारका लागि ओली सरकारले १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

जोशीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन उप–प्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार नर्भिक अस्पताल पुगेका थिए ।

पोखरेलले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए ।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको पत्रकारहरूलाई जानकारी दिएका छन् ।

जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौंको अक्षयकोष यसअघि नै स्थापना गरेका छन् । जोशीले आफै व्यक्तिगत खर्चमा गरिव दुःखीको सेवा गर्दै आएका छन् ।

जोशीलाई फागुन १४ मा मस्तिष्कघात भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

कम्युनिस्टका नेताहरूले उपचारका लागि सरकारसँग अपारदर्शी रुपमा उपचार खर्च लिएको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता जोशीको परिवारले सरकारबाट आर्थिक सहयोग नलिने घोषणा गरेको छ ।

Published : Sunday, 2021 March 21, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया