खतिवडाद्वारा राष्ट्रपति भण्डारीको सर्वदलीय बैठकको विरोध
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकको विरोध गरेका छन् ।
ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकामा आयोजित फुटबल प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै खतिवडाले संसद भङ्ग गर्ने निर्णयलाई बाटैमा सदर गर्ने राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकोमा आपत्ति जनाए ।
‘राष्ट्रपति संविधानको मर्यादाभित्र रहनुपर्छ । आफ्नो भूमिका निर्वाह गर्नुपर्छ’, उनले भने, ‘देशलाई गाह्रो परेका बेला संसद विघटन गर्नुपर्दा बाटैबाट सदर गर्ने राष्ट्रपतिले सर्वदलीय मिटिङ बोलाउन तयार हुनुभएको छ ।’
‘म राजनीतिक रुपमा कसैको आलोचना गर्न चाहँदैन’, उनले भनेका छन्, ‘राष्ट्रपति जस्तो व्यक्ति आफ्नो मर्यादामा बस्न सक्नुपर्छ ।’
‘देशको राजनीतिक अवस्था अहिले फरक छ । प्रधानमन्त्रीलाई खेलकुदमा जस्तै रेफ्री बनाएर राख्यौँ’, उनले भने, ‘प्रधानमन्त्रीजीले कहिले काहिँ बीचैमा झेल गरिदिनुभयो । कहिले मध्यावधीपछि सिठ्ठी बजाइदिनुभयो ।’
उनले ओलीप्रति लक्षित गरेर भने, ‘कहिले फेरि संसद पुनःबहाली भनिदिनुभयो । अहिले राष्ट्रपतिकोमा नयाँ बैठक राखेर अर्को सिठ्ठी बजाउन खोज्दै हुनुहुन्छ । खेलको नियम सबैले पालना गर्नुपर्छ । देशको संविधान सबैले पालन गर्नुपर्छ । प्रधानमन्त्रीले देशको संविधान पालना गर्नुपर्छ ।’
‘देशलाई सहि ट्रयाकमा हिँडाउनको लागि अभिभावक ठीक भएन भने देश सहि ट्रयाकमा हिँड्दैन । खेल्ने खेलाडी र रेफ्री ठीक भएन भने खेलपनि सहि हुँदैन’, उनले भनेका छन् ।
कांग्रेसका नेता खतिवडाले भने, ‘खेलमा झेल भए जस्तै राजनीतिमा झेल भयो भने मुलुक चल्दैन । त्यो बाटोमा हामी जानु हुँदैन ।’
‘अफ्ठ्यारो परेका बेला हामीलाई सम्झिनु होला । युवाको योगदानको सधै कांग्रेसले स्मरण गर्नेछ’, कांग्रेसका नेता खतिवडाले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया