ओली फाल्ने कांग्रेसको निर्णयप्रति खतिवडा खुसी, देश बिगार्ने कम्युनिस्ट ‘गद्धार’हरूको नाम घोषणा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मुलुकले प्रतिगमनकारी केपी ओलीको बिकल्प खोजेको बताएका छन् ।

नेपाल शिक्षक संघ ओखलढुंगाद्वरा आयोजित नेपाल शिक्षक संघको २१ औं र २२ औं संयुक्त प्रतिनिधि सभालाई शनिबार ओखलढुंगामा सम्बोधन गर्दै खतिवडाले ओलीलाई हटाएर बिकल्पमा कांग्रेसले सरकार बनाएर सबैलाई समेटेर अर्ली चुनावमा जानुपर्ने बताए । उनले कांग्रेसका नेताहरूले एकठाउँमा बसेर एउटै स्वरमा ओलीविरुद्ध सभापति शेरबहादुर देउवालाई सरकार गठनका लागि जिम्मेवारी दिएको भन्दै खुसी व्यक्त गरे ।

‘कांग्रेसका सबै नेताहरूले हिजो एकठाउँमा बसेर भनेका छन् । अब केपी ओली सरकारको विरुद्धमा बिकल्पको रुपमा कांग्रेस प्रस्तुत हुन्छ । नेताहरूले नेतृत्व लिन तयार छौँ भनेका छन्’, उनले भने, ‘सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । प्रतिगमनकारी सरकारको अन्त्य हुन्छ । नयाँ सरकार बनेर चुनावी तयारीको लागि लाग्नुपर्छ ।’

खतिवडाले देशलाई अहिलेको बेथितिमा लैजाने कार्यमा कांग्रेस जिम्मेवार नरहेको बताएका छन । ‘नेकपा भन्ने पार्टी छ । त्यसमा पनि एमालेका अध्यक्ष केपी ओली हुनुहुन्छ । माओवादीका अध्यक्ष प्रचण्ड हुनुहुन्छ । आँट नगर्ने बजारमा खुसखुस गरेर यो अवस्था देशलाई पुर्‍याउनेमा माधव नेपाल र वामदेव गौतम, झलनाथ खनाल पनि हुनुहुन्छ’, उनले भनेका छन् ।

खतिवडाले जनतालाई झुक्काएर राजनीतिक स्थिरताका लागि भोट मागेर राजनीतिक अस्थिरता मच्चाउने एमाले र माओवादीका शीर्ष नेताहरू गद्धार रहेको घोषणा गरे ।

‘देशको राजनीतिलाई यो अवस्थामा पुर्‍याउने उहाँहरूले जनतासँग माफी माग्नुपर्छ’, उनले भने, ‘कांग्रेस कहाँ गयो भनेर ४० वर्षसम्म खोज्नुपर्छ भन्ने कम्युनिस्ट । शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्ने साथीहरू लुरुलुरु प्रतिनिधि सभा पुनःवहाली हुनेवित्तिकै शेरबहादुर देउवाको घरमा गएर प्रधानमन्त्री भइदिनु पर्‍यो भन्न आए ।’

उनले भने, ‘कांग्रेस अस्थिरताको राजनीतिमा विश्वास गर्दैन । कांग्रेसले स्थिरताको राजनीतिमा विश्वास गर्छ ।’

‘दुईतिहाइको नजिक रहेको पार्टीले तीन वर्षसम्म केही चलाउन सकेन । अहिले विभिन्न टुक्रालाई तान्दै–तान्दै सरकार गठन गरेर लामो समय कांग्रेसले राजनीति गर्दैन’, उनले भने, ‘अहिलेको बिकल्प भनेको केपी ओलीका विरुद्ध सबै शक्ति एकठाउँमा राखेर अर्ली इलेक्सनका लागि कांग्रेस तयार हुन्छ र हुनुपर्छ । कांग्रेस पहिलो पार्टी बन्नुपर्छ ।’

कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘नेकपा भन्ने पार्टी हट्यो । अब एमाले भन्ने पार्टी धेरै दिन टिक्ने अवस्थामा छैन । कम्युनिस्टहरूको ठेगान छैन । कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ ।’

‘हामीले पार्टीमा जुटको राजनीति गर्नुपर्छ । फुटको राजनीति होइन एकताको राजनीति गर्नुपर्छ’, उनले भने, ‘मेरो र तेरो होइन हाम्रो र राम्रो मान्छेको आवश्यक्ता छ भनेर लिएर जान सक्नुपर्छ । मरोविरुद्धमा राम्रो काम गर्ने मान्छे आउँछ भने मेरो प्रतिनिधित्व त्यही हो । मिलेर अगाडि जाने कुराको विकास गर्‍यौँ भने कांग्रेसलाई पहिलो पार्टी बन्नबाट देशव्यापी रुपमा कसैले रोक्न सक्दैन ।’

उनले प्रश्न गर्दै भनेका छन्, ‘गुटको राजनीति गर्दा एमालेमा केपी ओलीले पार्टीलाई कहाँ पुर्‍याए ?’
कांग्रेस नेता खतिवडाले नेपालको राजनीति अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । उनले धेरै वर्षपछि संविधान सभाबाट संविधान लेखन गरेको बताउँदै कांग्रेसले संविधानलाई सबैका लागि बनाएको उल्लेख गरे ।

‘संविधान बनाउने नेतृत्व नेपाली कांग्रेसले गर्‍यो । कांग्रेसलाई जिताउनुभयो’, उनले भनेका छन् ।
‘जब–जब नेपालमा कांग्रेस पहिलो पार्टी बन्यो जनताले दिएका कामहरू सबै हामीले पूरा गरेका छौँ’, उनले भने, ‘जुनसुकै अवस्थामा पनि जनताले दिएको जिम्मेवारी पूरा गरेर देखायौँ । संविधानसभाबाट संविधान मात्रै बनाएनौँ । वारी खाना खाएर पारि गएर ढुंगा हान्ने शक्तिलाई संविधानभित्र ल्याएर संविधान कार्यान्वयनको बाटोमा लग्यौँ ।’

खतिवडाले भनेका छन्, ‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको चुनावले स्थानीय तहको चनाव मात्रै गरेन संविधान कार्यान्वयन गरेर स्थानीय तहमा भेन्टिलेसनको काम गर्‍यो ।’
‘वीस वर्षसम्म स्थानीय तहको चुनाव भएको थिएन । कम्युनिस्टको नेतृत्व हुँदासम्म । आज पनि देख्नुभयो ०१५ सालदेखि आज झण्डै ०७७ सालसम्म जति पनि निर्वाचन भएका छन् कम्युनिस्ट पार्टीको नेतृत्वमा कुनै पनि निर्वाचन आजसम्म भएका छैनन्’, उनले भनेका छन् ।

‘०५४ सालमा स्थानीय निकायको चुनाव हुँदा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । वामदेव गौतम गृह मन्त्री थिए’, खतिवडाले भनेका छन्, ‘चुनाव गराउँदा मनमोहन अधिकारीले त्यस बेला जनतालाई बधाइ र धन्यावाद दिएनन् । यो चुनाव राम्रो साथ सम्पन्न गरेकोमा गृहमन्त्री वामदेव गौतमलाई बधाइ दिनुभयो । जनतासँग विश्वास थिएन । वामदेव गौतमसँग विश्वास थियो ।’

खतिवडाले भने, ‘चुनाव हुँदा कम्युनिस्टहरू विभिन्न बहानामा झण्डै दुईतिहाइ नजिक पुग्नुभयो । तीन वर्षको अवधिमा सरकारले के काम गर्‍यो तपाईहरूले देख्नुभएको छ ।’

‘कम्युनिस्टले चोयाको गठबन्धन भन्नुभएको थियो । यो चोयाको गठबन्धन हो । भाँचिन्छ, टुक्रिन्छ जान्छ भनेर भनेर हामीले त्यसै बेला भनेका थियौँ । तीन वर्ष नपुग्दै आज गल्र्याम गुर्लुम कम्युनिस्ट पार्टी ढलेका छन्’, उनले भनेका छन् ।

‘नेकपाको एकता समाप्त भएको छ । कम्युनिस्टको एकता स्वार्थमा केन्द्रित थियो । व्यक्तिगत ईच्छामा केन्द्रित थियो । जनताप्रति विश्वास थिएन । जनतासँग गरेको बाचा पूरा गर्ने इच्छा थिएन’, उनले भने, ‘त्यही कारण जनता समक्ष तीन वर्ष पनि नेकपाको सरकाकाले काम गर्न सकेन ।’

‘नेकपाले प्रतिनिधि सभा विघठन गरे । कांग्रेसले सुझबुझपूर्ण निर्णय लियो । कांग्रेसले प्रतिनिधि सभ विघटन असंवैधानिक, अराजनीतिक थियो’, उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले अख्तियारको दुरुपयोग गरे । तर कहिल्यै पनि कांग्रेसले सर्वोच्च अदालतको अगाडि गएर नारा लगाउने, घर्ने, धर्ना दिने काम गरेनौँ । कांग्रेसलाई कानूनी राज्यप्रति विश्वास थियो । हामी कानूनलाई कब्जामा लिएर शासन गर्ने पद्धतिको विरुद्धमा छौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन विभागका प्रमुख भीष्मराज आङ्दम्बेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, महिला नेतृ गोमा केसीलगायतका जिल्लाभरिका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 March 13, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया