वीपीका सहयात्रीका छोरा एवम् देउवाका साथीको निधन, कांग्रेसलाई ठूलो क्षति

काठमाडौं । नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य पुराना नेता तमर राईको निधन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी शोक वक्तव्यअनुसार राईको फागुन २८ गते शुक्रबार राति झापाको मेचीनगर, काकडभिट्टास्थित निवासमा निधन भएको हो ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार राईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

राईको निधनबाट सिंगो नेपाली कांग्रेसले एक निष्ठावान अग्रज व्यक्तित्वसंगै झापाको भूगोलले एक सरल राजनीतिकर्मी र असल समाजसेवी गुमाउनु परेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले राईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भनेका छन्, ‘वीपी कोइरालाका सहयात्री धनवर्ण राई ‘काका’ का सुपुत्र एवम् मेरा मित्र तमर राईको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ ।’

‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहनेछ’, देउवाले भनेका छन् ।

‘तमर राईप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु’, देउवाले भनेका छन् ।

Published : Saturday, 2021 March 13, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया