नेविसंघका संस्थापक केन्द्रीय सदस्यको निधन, सभापति मल्लको पनि दुर्घटनामा ज्यान गयो

काठमाडौं । नेपाली कांग्रेस गुल्मीका पूर्व उप–सभापति एवम् नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य लक्ष्मणसिंह थापाको निधन भएको छ ।

थापाको बुधबार ७२ वर्षको उमेरमा गुल्मी दरवार गाउँपालिकास्थित निवासमा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

स्व.थापा नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष र वीपी विचार समाजको वर्तमान जिल्ला अध्यक्ष समेत थिए ।

स्व.थापाले नेपाली कांग्रेसको संंगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

स्व.थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

स्व.थापाको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले समवेदना प्रकट गरेका छन् ।

यसैबीच, मुगु जिल्लाको सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय जयकर्ण मल्लको बुधबार राति ९ बजे निधन भएको छ ।

बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्करबाट मल्लको निधन भएको कांग्रेसको शोक वक्तव्यमा उल्लेख छ ।

स्व.मल्लले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सभापति देउवाले मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

Published : Thursday, 2021 March 11, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया