कम्युनिस्टहरू पुच्छर लुकाएर भागेपछि कांग्रेसले बनाइदिन थाल्यो पीडितका घर, बस्नेतद्वारा शिलान्यास

धुसेनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पहिरोले पुरिएका तीन वटा घर निर्माणका लागि शिलान्यास गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका– ६ धुसेनीमा नेता बस्नेतले मंगलबार तीन वटा घर बनाउनका लागि शिलान्यास गरेका हुन् ।

सुनकोशी गाउँपालिका र वडा नं. ६ को आर्थिक सहयोगमा पहिरो पीडितहरूको घर बनाउन लागिएको हो । घर बनाउन कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले २५–२५ हजारका दरले तीन घरपरिवारलाई आर्थिक सहयोग पनि गरिएको छ ।

२०७७ भदौ १४ गतेको बाढीपहिरोले ३ घरपरिवार विस्थापित भएका थिए ।

खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतको निर्देशन र पहिलमा सुनकोशी गाउँपालिका र वडा नम्बर ६ ले संयुक्त रुपमा बजेट बिनियोजन गरी पीडितहरूको घर निर्माण गर्न लागिएको छ ।

कार्यक्रममा नेता बस्नेतका साथै नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, सुनकोशी गाउँपालिका प्रमुख श्रवणकुमार जिसी र सुनकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

बाढीपहिरो पीडितको घरहरू सरकारले निर्माण गरिदिने भनेको थियो । छ महिनाभन्दा धेरै समय भइसक्दा पनि सरकारले पीडितका घरहरू बनाउनेतिर ध्यान नदिएपछि कांग्रेसका नेता एवम् पूर्वमन्त्री बस्नेतले घरहरू बनाइदिन पहल गरेका हुन् ।

सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले जितेको यो गाउँपालिकामा जनतालाई समस्या पर्दा जनप्रतिनिधिहरू आफै पुगेर सहयोग गर्ने गरेका छन् ।

यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले कांग्रेसले बाढीपहिरो पीडित र कोरोना महामारीका बेला खाद्यान्नसहितका सामग्री वितरण गरेको देखेर कम्युनिस्टले एकद्वार प्रणाली लागू गर्न दवाव दिएको बताए ।

सरकारी खातामा रहेको बाढीपीडितको दुई करोड रकम त्यतिकै रहेको भन्दै पीडितलाई दिनुपर्ने बताए । उनले कम्युनिस्टहरूले बाढीपीडितको दुई करोड रकम रोकेर राखेको बताए ।

बलेफी गाउँपालिकको अध्यक्षसहितको सानो झुण्डले सरकारी ढुकुटीमा रहेको दुई करोड बाँड्नुपर्छ भनेर नारा लगाएको देख्दा आफूलाई लाज लागेको बताए ।

कांग्रेसको सरकार आयो भने त्यो पैसा पीडितलाई बाँड्छ भनेर कम्युनिस्टहरूले माइतीघर मण्डलामा नारा लगाएको बस्नेतले आरोप लगाएका छन् । कम्युनिस्टले उचित समयमा जनताको उचित काम कहिल्यै नगरेको उनले बताए ।

कम्युनिस्टले कांग्रेसलाई सक्कियो भनेर भन्नेहरूले सरकार चलाउन सकेनौँ तपाईले चलाइदिनुस् भनेर शेरबहादुर देउवासँग आग्रह गर्न गएको उनले बताएका छन् । उनले कम्युनिस्टहरू बिचौलिया भएको भन्दै कांग्रेसलाई भोट दिन आग्रह गरे ।

Published : Tuesday, 2021 March 9, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया