कांग्रेसलाई ठूलो क्षति, डा.खड्काको निधन, देउवा चिन्तित

काठमाडौं । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ ।

डा.खड्काका मंगलबार बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालय सानेपाद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

स्व.खड्का २०४८ को आम निर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका थिए ।

उनी विक्रम संवत २०५५ मा म्याग्दी जिल्ला सुकुम्वासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरूमा समेत क्रियाशील रहँदै आएका थिए ।

विक्रम संवत १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाविस– १ मा जन्मिएका स्व.खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

डा.खड्काको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा.भुपेन्द्रबहादुर खड्काको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ’, देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको कांग्रेसले सधैँ स्मरण गर्नेछ ।’

देउवाले डा.खड्काप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएका छन् ।

डा.खड्काको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले समवेदना प्रकट गरेको केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

Published : Tuesday, 2021 March 9, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया