लाज नभएका कम्युनिस्टसँग कांग्रेसको सहकार्य हुँदैनः रामहरि खतिवडा

लिवाङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खवतडाले भ्रष्टाचार र बेथितिका कारण कम्युनिस्टहरू मुख देखाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

नेपाली कांग्रेस रोल्पाले लिवाङमा मंगलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले लाज नभएका कम्युनिस्टहरूसँग कांग्रेसले सहकार्य गर्न नहुने बताए । उनले मुलुकलाई नयाँ ढंगले राजनीतिक कोर्षमा लैजानुपर्ने बताएका छन् ।

‘कम्युनिस्टहरू मास्कले मुख छापेर हिडेका छन्’, उनले भने, ‘कांग्रेसले अब यस्तासँग कहिल्यै पनि सहकार्य गर्नु हुँदैन । नयाँ किसिमले राजनीति गर्नुपर्छ ।’

‘ढिलोचाढो चुनावमा जानुपर्छ । नयाँ जनादेश ल्याउनुपर्छ । अर्को विकल्प देखिदैन’, पूर्वसांसद खतिवडाले भने, ‘कम्युनिस्टबाट मुलुक चल्दैन । अब कांग्रेसले मुलुकलाई निकास दिनुपर्छ ।’

उनले कांग्रेसको पक्षमा माहोल ल्याउन छिटोभन्दा छिटो निर्वाचनबाट सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

कम्युनिस्टलाई भोट हालेका मतदाताहरूनै आजित बनेको बताएका खतिवडाले रोल्पामा नै माओवादीहरूले जनतालाई झुठ बोलेर दुःख दिएको बताए । उनले सत्ता र व्यक्तिगत स्वार्थका लागि कम्युनिस्टहरू तल्लो तहको राजनीतिमा उत्रिएको आरोप लगाए ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य बद्री पाण्डे, पूर्वसांसद रामहरि खतिवडा, पूर्वसभापति लेखनाथ आचार्य, पूर्व सांसद सुरेन्द्र हमाल, कांग्रेस नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल, कांग्रेस नेता राजु नेपाललगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा रोल्पा कांग्रेसका अगुवा नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्व मिल्न नसक्दा फेरि पनि कम्युनिस्टहरू मुलुकमा हाबी हुने हुन् कि भनेर आशंका जनाएका थिए ।

Published : Tuesday, 2021 March 9, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया