धनगढीमा कांग्रेसको शक्तिशाली प्रदर्शन, आगामी सरकार कांग्रेसको बन्ने बस्नेतको घोषणा
निरोज चौलागाइँ
धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचन कांग्रेसले जत्ने भन्दै कांग्रेसलाई भोट हाल्न कम्युनिस्टलाई मतदान गरेका मतदाताहरू तयारी अवस्थामा रहेको बताएका छन् ।
नेपाली कांग्रेस कैलालीले सोमबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेस अलिकति सुध्रियो भने सारा चुनाव जित्ने बताए । उनले कांग्रेसले कांग्रेसलाई भोट हाल्ने प्रवृत्ति नसुध्रिएसम्म कांग्रेसले कहिल्यै जित्न नसक्ने बताए ।
‘कांग्रेसले चुनाव जित्छ रे । कांग्रेस चुनावमा लागेको छ रे भन्छन् । कांग्रेसले चुनाव जित्छनै’, उनले भने, ‘संसद विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्छौं । सर्वोच्चको निर्णय पनि मान्छौँ । निर्वाचनको तयारीमा छौँ ।’
‘कांग्रेसलाई कांग्रेसले भोट हाल्ने बानी बसेन भने हाम्रो पराजय भइरहनेछ’, खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले भने, ‘आज टिकट नपाउने कांग्रेसले भोलि टिकट पाउनेछ । त्यस बेला पनि उसले हार्न सक्छ । कांग्रेसलाई भोट हाल्ने बानी बनाऔँ ।’
‘कम्युनिस्टलाई भोट हालेकाहरूले कांग्रेस अलिकति सुध्रियोस सच्चियोस् भनेर कांग्रेसलाई भोट हाल्न नेपाली जनता हात उचालेर बसेका छन्’, उनले भनेका छन् ।
सुदूरपश्चिमले ०४८ सालमा सरकार बनाउन निर्णायक भूमिका खेलेको भन्दै बस्नेतले भने, ‘सुदूरपश्चिमको १९ सिटमा कांग्रेसले १८ सिट जित्नेछ । एक सिट कम्युनिस्टलाई दिने हो ।’
सुदूरपश्चिमले शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बनाएको बताएका उनले भने, ‘शेरबहादुर देउवाज्यू प्रधानमन्त्री बन्ने अझै कति हो कति । धेरैलाई तनाब भएको छ ।’

पूर्वमन्त्री बस्नेतले पुलिस प्रशासनलाई कम्युनिस्टको इसारामा काम नगर्न सुझाव दिएका छन् । ‘पुलिस प्रशासनलाई धावा बोलेर कम्युनिस्टले देशभरिका कांग्रेस कार्यकर्तालाई दुःख दिने गरेका छन्’, बस्नेतले चेतावनी शैलीमा भने, ‘कांग्रेस चुप लागेर बस्दैन । लोकतन्त्र र जनताको चाहनाअनुसार काम गर्दा कम्युनिस्टले भनेको नमान्दा झठ्ठा मुद्धा लगाउने हो भने कांग्रसले पनि हिसाब किताब गर्न थालेको छ । यसपछिको सरकार कांग्रेसको हो । कहाँ–कहाँ कांग्रेसलाई दुःख दिइयो भनेर त्यस बेला कांग्रेसले फाइल पल्टाउन थाल्यो भने क–कसलाई अफ्ठ्यारो पर्छ ।’
कम्युनिस्ट सरकार कोरोना महामारीका बेला पनि भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए । ‘केएन ९५ मास्क हामीले ९ रुपियाँमा किनेर बाँडेका हौँ । सरकारले ८ सय बिल बनाएर खायो । हामीले १३ रुपियाँमा सर्जिकल मास्क किनेर वितरण गरेका थियौँ । सरकारले ५२ रुपियाँको बिल बनाएर खायो’, उनले भनेका छन् ।
‘जनतालाई अफ्ठ्यारो परेका बेला जनताको पक्षमा लाग्छौँ । लड्न परे लड्छौँ । भिड्न परे भिड्छौँ । मुद्धा बोक्न परे बोक्छौँ । जनतालाई सहयोग गर्छौं’, बस्नेतले भने, ‘कोरोनाका बेला सहयोग गर्दा ठाउँ–ठाउँमा झडप पनि भएको छ । हामीले सहयोग गर्न छाडेनौँ । हाम्रा साथीहरूले कोरोनामा पनि स्वास्थ्य सामग्री बाड्यौँ । कम्युनिस्टले रोक्न खोजे । रोक्न सकेनन् ।’
‘मलाई मात्रै होइन हाम्रा देशभरिका साथीहरूलाई कोरोनाका बेला स्वास्थ्य सामग्री बाँड्न दिएको थिएन’, उनले भने, ‘हामीले जनताको पक्षमा काम गरेका छौँ ।’

कांग्रेसको सरकारका पालामा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समावेशी आयोगहरू बनाएको उनले बताए । कम्युनिस्टहरूले कांग्रेसले गरेको कामलाई मैले गरेको हुँ भनेर जनतालाई झुक्काउने मात्रै काम गर्ने गरेको बस्नेतले बताए ।
‘सिन्धुपाल्चोकमा तामाङ बस्ती छ । माओवादीले ताम्सालिङ राज्यको घोषणा ग¥यो’, बस्नेतले भने, ‘तामाङलाई नै त्यसको प्रमुख बनाउलान् भनेको त अग्नि सापकोटालाई बनाए ।’ कम्युनिस्ट भनेका जातजाति र सम्प्रदायमा खेलेर जातीय राजनीति गर्ने गलत प्रवृत्ति रहेको उनले बताए ।
विरोध सभा हुनुभन्दा अगाडि धनगढीको विभिन्न स्थानबाट कम्युनिस्ट सरकारविरुद्ध नारावाजीसहित प्रदर्शन भएको थियो । प्रदर्शनमा हजारौँ कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया