मुख्यमन्त्री पोखरेलका कार्यकर्ता सम्धीले कांग्रेसमा भित्र्याएपछि कम्युनिस्टभित्र खैलाबैला
हापुर । नेपाली कांग्रेस दाङका नेता भरतबहादुर न्यौपानेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का झण्डै दुई सय नेता कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।
दाङको घोराही उप–महानगरपालिकाको वडा नं. १२ को हापुरमा बिहीबार आयोजित कम्युनिस्ट सरकार विरोधी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्यौपानेले नेकपाका नेता कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरू लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेल र नेकपाका अर्का नेता कृष्णबहादुर महराका स्थानीय नेता कार्यकर्ताहरू हुन् । कांग्रेस नेता न्यौपाने र मुख्यमन्त्री पोखरेल नाताले सम्धी पर्छन् ।
सम्धीको दलका नेता कार्यकर्ताहरूलाई न्यौपानेतले कांग्रेसमा भित्र्याएपछि दाङ कांग्रेसका कम्युनिस्टहरूभित्र खैलाबैला भएको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले हापुरसहित दाङ जिल्लाको विकास कांग्रेसले गरेको बताए । उनले कम्युनिस्टहरूले आफ्नै बहुमतको सरकार हुँदा पनि दाङको विकासमा सिन्को पनि भाँच्न नसकेको आरोप लगाए ।
‘हापुरको बाटो, बिजुली, पुल, खानेपानी, नहर कांग्रेसको बनाएको हो’, नेता न्यौपानेले भने, ‘दाङको विकास कांग्रेस गरेको हो । कुनै कम्युनिस्ट आएर भनोस् दाङमा यो–यो विकास गरेँ भनेर ।’
उनले कम्युनिस्टहरूले वन मासेको आरोप लगाए । ‘कम्युनिस्टले रुख काटेर बेचेका छन् । वन मासेका छन्, खोलका ढुंगा र बालुवा तस्करी गरेर खाएका छन्’, न्यौपानेले भने, ‘कम्युनिस्टले असंवैधानिक, अलोकतान्त्रिक र अवैध काम मात्रै गर्न जानेका छन् । जनता झुक्काउने काम गरेका छन् । झुठ बोलेका छन् । जनतामा पतन भएर गएका छन् ।’
कांग्रेस नेता न्यौपानेले नेकपाका स्थानीय लोकप्रिय नेता तथा कार्यकर्ताहरू दुर्गाबहादुर नेपाली, शेरबहादुर घर्ती, दुर्गा केसी, हीराबहादुर भकारी लगायत करीब दुई सय जनालाई पार्टीको सदस्यता दिएर प्रवेश गराएको वडा नं. १२ का सभापति वासु गौतमले जानकारी दिएका छन् ।
बासु गौतमको सभापत्विमा भएको कार्यक्रममा दाङ कांग्रेसका जिल्ला सदस्य निर्मल न्यौपाने, लोकबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।









बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया