प्रचण्ड भारत उडेकै दिन चितवनमा ओली समूहको भव्य कार्यक्रम, रेणुलाई तनाब

भरतपुर । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेको जिल्ला चितवनमा भव्य कार्यक्रम गरेको छ ।

प्रचण्डले पत्नी सीता दाहाललाई उपचार गराउन भारत लगेकै दिन ओली समूहले सोमबार भरतपुरमा बृहत कार्यकर्ता भेला गरेको छ । कार्यकर्ता भेलालाई गृहमन्त्री समेत रहेका नेकपाका नेता रामबहादुर थापा, लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेलसहितका नेताहरूले सम्बोधन गरेका छन् ।

गृहमन्त्री थापाले पार्टी फुटाउने षडयन्त्रका साथ प्रचण्डले १९ बुँदे आरोपपत्र सचिवालयको बैठकमा प्रस्तुत गरेको बताए । ‘अध्यक्ष र प्रधानमन्त्री नपाएर प्रचण्ड–माधवजीले पार्टी छाडेर जानुभएको हो’, थापाले भने, ‘उहाँहरूले पार्टीको भेला नभई गुटको भेला गर्दै हिंड्नु भएको छ ।’

गृहमन्त्री थापाले प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा प्रतिस्पर्धा गर्न प्रचण्ड र माधव नेपाललाई चुनौति दिएका छन् । ‘तपाईलाई यो संसदले प्रधानमन्त्री नबनाउने हुनाले चुनावी मैदानबाट नभाग्नुस् प्रचण्ड– माधव नेपालज्यू’, थापाले अनुरोध गरेका छन् ।

उनले प्रजातान्त्रिक पद्धतिमा कसैको लहड र उत्तेजनाले पार्टी अध्यक्ष र प्रधानमन्त्री हटाउन नसक्ने बताएका छन् । ‘महाधिवेशनबाट निर्वाचित अध्यक्ष र जनताबाट विजयी भई संसदबाट चुनिनु भएका केपी ओलीलाई प्रचण्ड–माधवले हटाएको नभै आफै पार्टी छाडेर जानुभएको छ’, गृहमन्त्री थापाले भनेका छन् ।

नेकपा चितवनले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सयौँ नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । आफ्नै महानगरभित्र ओली समूहले भव्य कार्यक्रम गरेपछि मेयर रेणुलाई तनाब भएको भेलामा सहभागी कार्यकर्ताहरूले चर्चा गरेको एक नेताले बताए ।

भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा निर्वाचित भएकी छिन् । प्रचण्ड पनि विघटित प्रतिनिधि सभामा चितवनबाटै निर्वाचित भएका थिए । प्रचण्ड रोल्पा, काठमाडौं, सिरहा हुँदै गएको प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका थिए ।

प्रचण्डलाई कांग्रेसले काठमाडौंको क्षेत्र नं. १० बाट नराम्रोसँग हराएको थियो । सिरहामा प्रचण्डलाई मत पत्रले भरिएको बाकस परिवर्तन गरेर निर्वाचित गराइएको स्वयं प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक सम्बोधनका क्रममा बोलिसकेका छन् ।

आपूर्तिमन्त्री लेखराज भट्टले पनि प्रचण्डलाई सिरहाबाट जिताउन मतपत्रले भरिएको बासक परिवर्तन गरिएको बताइसकेका छन् ।

रेणुले भरतपुर महानगरपालिकाको मेयरमा जित्नका लागि प्रचण्डले कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर छोरीलाई जिताएको ओलीले यसअघि जनाइसकेका छन् । चितवनमा ओली समूहनै बलियो रहेको कार्यक्रममा दाबी गरिएको छ ।

Published : Monday, 2021 January 4, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया