आन्दोलनमार्फत सरकारलाई समयमा निर्वाचन गर्न बाध्य पार्नुपर्छः कांग्रेस नेता तिमल्सिना

राजपुर । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमल्सिनाले आन्दोलनमार्फत सरकारलाई दवाव सिर्जना गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

गृहजिल्ला बर्दियाको राजापुर नगरपालिका– १० मा कांग्रेसको वडा कार्यसमितिले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका तिमल्सिनाले निर्वाचन गराउन आन्दोलन गरेर कांग्रेसले सरकारलाई ठूलो दवाव सिर्जना गर्नुपर्ने बताए । उनले संसद विघटनको विषय अदालतमा विचाराधीन भएकाले सो विषयलाई प्रभावित पार्ने गरेर बोल्न नहुने बताए ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर ठूलो घात गरेको बताए । उनले संविधान उल्लंघन गर्ने अधिकार ओलीलाई नरहेको बताए । ‘संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन छ’, उनले भने, ‘संसद पुनःस्थापना भयो भने पनि ठीक छ । निर्वाचनमा जाने फैसला भयो पनि कांग्रेसलाई मान्य छ ।’ ओली सरकारले समयमा निर्वाचन गर्छ भन्ने कुरामा विभिन्न आशंकाहरू आइरहेको भन्दै कांग्रेस नेता तिमल्सिनाले समयमा निर्वाचन गराउन कम्युनिस्ट सरकारलाई दवाव सिर्जना गर्नुपर्ने बताए ।

निर्वाचनले पार्टीभित्रको एकतालाई मजबुत बनाउने उनको भनाइ छ । सरकारले व्यक्तिगत स्वार्थ र भागबण्डाका नाममा संसदलाई विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको नेता तिमल्सिनाले बताएका छन् ।

राजापुरको वडा नं. १० मा भारतबाट आउने जंगली हात्तिले जनधनको ठूलो नोक्सानी गरेको भन्दै कांग्रेसका स्थानीय कार्यकर्ताले गुनासो गरेका थिए । उनीहरूले कांग्रेस नेता तिमल्सिनासँग भारतको आरक्षबाट आउने जंगली हात्ति नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

राजापुर नगरपालिका–१० कोठियाघाट नजिकै दक्षिण पश्चिमको यो क्षेत्र भारतसँग सीमा जोडिएको छ । यस क्षेत्रमा जंगली हात्तिको ठूलो समस्या रहँदै आएको छ । कांग्रेस नेता तिमल्सिनाले सरकारले ध्यान नदिए पनि कांग्रेसले जंगली हात्तिबाट हुने समस्यालाई समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

कार्यक्रममा राजापुर नगरपालिका– १० का नेपाली कांग्रेसका वडा सभापति समेत रहेका वडाध्यक्ष दयाशंकर चौधरी, बर्दिया कांग्रेसका जिल्ला सदस्य विजय पुन, तत्कालीन मनाउ गाविसका पूर्वअध्यक्ष हुर्मत शाही, तत्कालीन खैरी गाविसका पूर्वअध्यक्ष कृष्ण अधिकारी, पूर्वगाविस पार्टी सभापति मुक्ति पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टी संगठन बिस्तारका विषयमा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग नेता तिमल्सिनाले छलफल गरेका हुन् । नेता तिमल्सिनाले विगत एक महिनादेखि गृहजिल्ला बर्दियाका विभिन्न स्थानमा नेता कार्यकर्ताहरूसँगको भेटघाटमा ब्यस्त छन् ।

Published : Monday, 2021 January 4, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया