कांग्रेसविरुद्ध भ्रम फैलाउनेहरूलाई सचेत रहन चेतावनी, माघ मसान्तसम्म म्याद थप
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको नामावली माघ मसान्तसम्म बढाएको छ ।
सानेपामा आइतबार बसेको केन्द्रीय समितिको बैठकले माघ मसान्तभित्र आवश्यक प्रकृया पूरा गरेर माघ मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको नामावली शुल्कसहित केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
‘एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरण तथा एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नवीकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पूरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्कसहित बुझाउने अन्तिम मिति माघ मसान्त तोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुंगो गरे बमाजिम केन्द्रीय कार्यसमितिले पारित गरेको छ ।
कांग्रेसले पुस ५ गते विघटनकै दिन पदाधिकारी र पूर्व पदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरेको जनाएको छ ।
‘पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरू समेत गरिहेको यथार्थ विपरीत पार्टीभित्र दुई खाले धारणा रहेको भनेर केही संचार माध्यममा आएका समाचारप्रति केन्द्रीय कार्यसमिति बैठकको ध्यानाकर्षण भएको जनाएको छ ।
‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले गलत समाचारहरूप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै संचार माध्यमलाई आग्रह गरेको छ ।
‘केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो भन्ने कांग्रेसले प्रष्ट पारिसकेको छ’, कांग्रेसले भनेको छ ।
ओली नेतृत्वको सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रित गरिरहेको कांग्रेसले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया