कांग्रेस नेता खाँणद्वारा मणिग्राम–मोतीपुर जोड्ने पुलको निरीक्षण, दशैँ अगाडि सञ्चालन हुने
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लास्थित मणिग्राम र मोतीपुर जोड्ने पुल निर्माण कामको प्रगति विवरणको जानकारी लिएका छन् ।
शनिबार बिहान पुल निर्माणस्थलमा पुगेर सडक डिभिजन कार्यालय बुटवलका ईञ्जिनियर दुर्गा गौतमसँग पुलको कामका विषयमा जानकारी लिएको कांग्रेस नेता विमल ढकालले जानकारी दिए ।
ईञ्जिनियर गौतमले मणिग्राम र मोतीपुर जोड्ने यो पुललाई आगामी दशैँसम्म सञ्चालनमा ल्याउने गरेर काम भइरहेको बताए ।
कांग्रेस नेता खाँणले पुलको काममा ढिलाइ भएको भन्दै चिन्ता जनाए । उनले भने, ‘यतिका धेरै वर्ष भइसक्यो पुल निर्माणमा ढिलाइ भएको छ । केही प्राविधिक समस्या छ भने पनि छिटो समाधान गरेर गर्नुपर्ने थियो । जनताले दुःख पाए ।’
तिलोत्तमा गोरकट्टा तिनाउ नदीमा निर्माण भइरहेको मणिग्राम–मोतीपुर जोड्ने पुलको वैकल्पिक डिजाइन स्वीकृत भएपछि पुनः काम धमाधम भइरहेको छ ।
०६७ सालको असार २५ गते पुल निर्माण गर्ने सम्झौता भएको थियो । पुलको ३ वटा फाउण्डेसन र २ स्यालप ढलान भएपछि काम राकिएको थियो ।
६ वटा फाउण्डेसन रहने गरी डिजाइन गरिएको पुलका ३ वटा फाउण्डेसनमा चट्टान परेका कारण निर्माणको काम रोकिएको थियो ।
पुलको वैकल्पिक डिजाइन स्वीकृत गराएर काम शुरु भएको ईञ्जिनियर गौतमले बताएका छन् । पहिला वेयल फाउण्डेसन डिजाइनमा स्वीकृत भएको थियो ।
पाइल फाउण्डेसन निर्माण गर्दा यसअघि निर्माण भएका वेयल फाउण्डेसनको सपोटमा पाइल फाउण्डेसन तयार हुनेछ । किला गाडेर तयार पारिनेछ ।
पहिलो चरणमा २४ पुस ०६९ मा सक्ने गरी १० करोड ३७ लाख ९५ हजार रुपियाँमा काठमाडौंको एलिट कन्ट्रक्सनले ठेक्का पाएको थियो ।
पाइल डिजाइनबाट फाउण्डेसन थप गर्दा केही रकम ठेक्का रकममा थप हुनेसमेत बताइएको छ । पुल निर्माण भएपछि मोतीपुर, शुद्धोधनबाट तिलोत्तमा आउन दूरी घट्नेछ । लुम्बिनी जाने आन्तारिक एवं बाह्य पर्यटक सीधा पुग्न सक्नेछन् । यो पुल बुद्ध सर्किटमा समेत पर्दछ ।
कांग्रेस नेता खाँणको विशेष पहलमा यो पुलको योजना परेको थियो । खाँणले पुल समयमा निर्माण गर्न पटक–पटक दवाव दिँदै आएका छन् । पुल निर्माणमा ढिलासुस्ती भएपछि नेता खाँण शनिबार आफै पुल निर्माण भएको स्थानमा पुगेर अनुगमन गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया