महेश बस्नेतलाई ‘अपहरणकारी’भन्दा कांग्रेसका सदस्य पक्राउ, शर्माद्वारा रिहाइ गर्न चेतावनी

काठमाडौं । नेपाल कांग्रेसले डिल्लीबहादुर चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेसका सदस्य चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौं ल्याइएको घटनाको निन्दा गर्दै तत्काल रिहाई गर्न माग गरेका हुन् ।

‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरूले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्’, विज्ञप्तिमा शर्माले भनेकाा छन् ।

‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ’, शर्माले भनेका छन् ।

‘त्यो कानूनी प्रक्रियाभन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

पूर्व प्रहरी समेत रहेका चन्द स्थानीय एक निजी क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका छन् ।

सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बाँचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय रहेको प्रवक्ता शर्माले बताएका छन् ।

शर्माले भने, ‘कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ ।’

चन्दले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् निर्वतमान सांसद महेश बस्नेतविरुद्ध फेसबुकमा लेखेर आलोचना तथा गाली लगौज गरेको भन्दै प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।

Published : Friday, 2021 January 1, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया