कम्युनिस्ट भनेका रंग लगाएका स्याल हुन्ः रामहरि खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकार चलाउन नसकेर दुईतिहाइको बहुमत हुँदा पनि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिहीबार ओखलढुंगाको चिसंखुगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले तीन वर्षभित्र ओली र कम्युनिस्टहरू असफल भएको बताए । उनले कम्युनिस्टहरूले जनतासँग भोट माग्ने अधिकार गुमाएको बताए ।
‘प्रधानमन्त्री केपी ओलीले सरकार चलाउन नसक्ने संसद विघटन गर्नुभएको छ’, उनले भने, ‘ओलीजी सिंहदरबार जान नसक्ने । तर, पार्टी प्यालेसमा भाषण गर्ने ।’
खतिवडाले निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरेका छन् । उनले निर्वाचनबाट कांग्रेस नभाग्ने बताए ।
कम्युनिस्टहरूबाट जनतालाई ढाँट्ने कामभन्दा अरु केही नभएको खतिवडाले बताएका छन् । उनले कम्युनिस्टहरूले धेरै ढाँटेकाले मुलुकलाई कम्युनिस्ट मुक्त बनाउन अपील गरेका छन् ।
कांग्रेस नेता खतिवडाले ओलीको राष्ट्रवादी छवि उदाङ्गो भइसकेको बताएका छन् । ‘भोट लिँदा ओली राष्ट्रवादी हुने । भोट पाएर जितेपछि विदेशीसामू लम्पसार पर्ने’, उनले भने, ‘राष्ट्रियता कमजोर भएको बेला वीपी, सुवर्णशम्शेर, गणेशमान, किशुनजीलाई स्मरण गर्ने बेला आएको छ ।’
कांग्रेस नेता खतिवडाले भ्रष्टाचार गरेको पैसा लिएर कम्युनिस्टहरू फेरि जनतासँग भोट माग्न आउन लागेको बताए । उनले दुई वर्ष बाँकी रहँदै संसद विघटन गरेर भ्रष्टाचार गरेको पैसा लिएर गाउँमा आए भने कम्युनिस्टहरूलाई लखेट्नुपर्ने बताए ।
‘हामीले भनेको होइन । उनीहरूले एकले अर्कालाई भ्रष्ट भनिरहनुभएको छ’, उनले भने, ‘बालुवाटार जग्गा काण्ड, ३३ किलो सुन काण्ड गर्दासम्म सबै राम्रो हुने, पद नपाउँदा एकले अर्कोलाई आक्षेप लगाउने ।’
उनले भने, ‘हिजोका दिनमा ढाँटेर भोट मागेका थिए । जितेर गए । कम्युनिस्ट भनेका रंग लगाएको स्याल हुन् । पानी परेपछि उनीहरूको रंग पखालिएपछि स्यालको असलीयत देखिए जस्तै कम्युनिस्टको पनि असलीयत पूरै देखिएको छ ।’
खतिवडाले धोवी घाटनमा पुगेर स्यालले रंग लगाएर आएको र झुक्किएर अन्य जनावरहरूले राजा बनाएको कथा सुनाएका थिए । पानीपर्दा स्यालको रंग उत्रिएपछि स्याललाई लखेटेको उनले बताए ।
‘जनताको घरमा पाँच हजार पु¥याउँछु भन्ने ओलीले पार्टी फोडेर पार्टी कार्यालयमा ताला लगाएर बस्नुभएको छ’, उनले भने, ‘ओलीजीले जनताको काम गर्नुभन्दा ढाँटेरै बस्नुभएको छ ।’
‘चुनावका बेला जनताको खुट्टा ढोग्ने । जितेपछि जनताको टाउकोमा बन्चरो हान्न कम्युनिस्टहरू हुन्’, उनले भने ।
खतिवडाले भनेका छन्, ‘राजा, माओवादीले कांग्रेसलाई समाप्त पार्न खोजे । हाम्रै हातबाट माओवादी सिद्धियो । उनीहरूले कांग्रेसलाई समाप्त पार्न सक्दैनन् ।’
‘नेकपा भन्ने पार्टी छैन । हिजो थियो । आज छैन । नेकपा ‘फुकपा’ भयो । फुटेको कम्युनिस्ट पार्टी हो । नेकपाका साथीहरूले जनतासँग भोट माग्ने अधिकार गुमाउनुभएको छ’, उनले भने, ‘जनतालाई ढाँट्ने काम मात्रै भएको छ ।’
ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले कम्युनिस्टहरू असफल भइसकेपछि संसद विघटन गरेको बताए । उनले वीपी कोइरालाको मेलमिलापको नीति झन् बढेर गएको भन्दै चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया