कामचलाउ ओली सरकारको निर्णयले विवादास्पद एसपी मालामाल

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा अनुसन्धानमा लापरबाही गरेको भनेर बर्खास्तीमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टलाई सरकारले सेवामा फर्काउने निर्णय गरेको छ ।

बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्षअघि गरिएको कारबाही बदर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

तत्कालीन प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा प्रहरी कर्मचारीबाट चरम लापरबाही भएको जनाएको थियो ।

गैरव्यवसायिक कार्य भएको भन्दै एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई ८ कात्तिक २०७५ मा बर्खास्त गरिएको थियो ।

निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।

११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रकरणको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लागेको थियो ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

संसद विघटन गरेर कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले एसपी विष्टलाई कारबाही फुकुवा गरेर धेरैलाई चकित तुल्याइदिएका छन् ।

Published : Wednesday, 2020 December 30, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया