उधौली पर्वले दिएको संस्कारलाई सबैले अनुशरण गरौँः कांग्रेस नेता खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले किरात राईहरूको महान पर्व उधौली (साकेला साकेवा ५०८) को अवसरमा शुभकामना दिएका छन् ।

किरात राई यायोख्खा जिल्ला कार्यसमिति ओखलढुंगाद्वारा बुधबार आयोजित शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधनगर्दै खतिवाले उधौली पर्वले सबैलाई आफ्नो मौलिक संस्कृति बनाएर राख्न सिकाएको बताए । उनले किरातीहरू नेपाल एकीकरणमा पृथ्वीनारायण शाह जत्तिकै योगदान रहेको बताए ।

उनले नेपालमा विविध संस्कृतिले भरिएको देश भएको भन्दै परम्परागत धर्म संस्कृति नै नेपालीहरूको धन रहेको बताए ।

उनले आफ्नो धर्म संस्कृतिलाई बचाउन सबैले ऐक्यवद्ध हुनुपर्ने बताएका छन् । एकले अर्काको इष्या, डाहा नगरी सबै धर्म, संस्कृति बचाउने गरि काम गर्नुपर्ने खतिवडाले बताए । उनले भने, ‘हामीले बनाएको संविधानमा सबै धर्म, वर्ग र संस्कृतिलाई अट्ने गरेर बनाएका छौँ ।’

किरात समुदायबाट बलबहादुर राई देशको १९औँ उप–प्रधानमन्त्री भएको भन्दै खतिवडाले भने, ‘म उहाँसंग धेरै नजिक भएर काम गर्न पाएँ । उहाँबाट सिक्नुपर्ने धेरै कुरा छन् ।’

‘म ब्यक्तिगत रुपमा कुनै धर्म मनाएको हुँला । म जुनसुकै पिछाडिएको वर्गको उत्थानका लागि जहाँ पनि लड्ने र आवज उठाउनेछु’, उनले भनेका छन् ।

Published : Wednesday, 2020 December 30, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया