संसद पुनःस्थापनापछि प्रचण्डसँग कांग्रेसले सरकार बनाउँनसक्छः बालकृष्ण खाँण

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड–माधवकुमार नेपाल समूहसँग सहकार्य गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देही शाखाले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले संसद पुनःस्थापना भएपछि प्रचण्ड–नेपाल समूहसँग सरकारमा सहकार्य गर्न सकिने बताए ।

‘संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग नै हाम्रो सहकार्य हुन्छ’, खाँणले भनेका छन् । प्रधानमन्त्री केपी ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले चुनाव नगराउने उनले दाबी गरेका छन् ।

‘वैशाखमा चुनाव गर्ने प्रधानमन्त्रीको मानसिकता छैन’, उनले भने, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद लाद्न नपाएपछि प्रतिनिधि सभा विघटन गर्नेले किन चुनाव गराउँछन् ?’

कांग्रेस नेता खाँणले प्रधानमन्त्री ओलीले कारोना वा अन्य कुनै कारण देखाएर संकटकाल लगाउन सक्ने बताएका छन् ।

प्रधानमन्त्री भएदेखि नै ओलीमा एकाधिकारवादी र निरंकुश ब्यवहार देखिएको भन्दै खाँणले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याउनुको पछाडि प्रधानमन्त्री ओलीको अधिनायकवादी चिन्तनले काम गरेको बताए ।

प्रतिनिधि सभा विघटन गरिएको विष्यामा अदालतमा मुद्दा परेकाले अदालतलाई प्रभाव नपरोस् भनेर कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनले बताएका छन् । खाँणले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

Published : Tuesday, 2020 December 29, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया