कांग्रेसले कम्युनिस्ट अधिनायकवाद परास्त गर्छः केन्द्रीय सदस्य गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले १०४ वर्षको राणा शाही र २४० वर्ष को निरंकुश राजतन्त्र अन्त्य गरेको कांग्रेसले कम्युनिस्ट सरकारको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी कदमलाई सहजै परास्त गर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ९ को कलंकीमा सोमबार आयोजित बिरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमलाई कांग्रेसले अत्यन्तै गम्भीरताका साथ लिएको बताए । उनले संसद पुनःस्थापना, मध्यावधी निर्वाचन वा दुबै नभएर देश राजनीतिक र संबैधानिक शून्यतामा जानसक्ने खतराप्रति कांग्रेस सचेत रहेको बताए ।

उनले कांग्रेसको केन्द्रीय समितिको बैठकमा विश्लेषण भैरहेको बताउँदै पुस १९ गतेबाट पुनः बस्ने केन्द्रीय समितिको बैठकले संबिधान र परिबर्तनका लागि विशेष निर्णय लिन सक्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बर्द्धनका लागि ठोस निर्णय लिने उनले जानकारी दिएका छन् ।

गिरीले भने, ‘जसजेठ १९ गते आफ्नो परिवार बचाउन सकेन, जसले आफ्नो परिवारलाई संस्कार र अनुशासनमा राख्न सकेन, जो ब्यापारिक सौदाबाजी गर्दै रहेको एउटा ब्यक्ति वा परिवार आएर देश बचाउन सक्दैन र सार्बभौमसत्ता र राजकीयसत्ताका मालिक नेपाली जनता अब रैती प्रजा हुन एवम् कसैलाई विष्णु अवतार मान्न तयार छैनन् ।’ गिरीले अब मुलुकको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको मूल्य र मान्यता छोडेको आरोप लगाएका छन् ।

राष्ट्रपतिभण्डारी प्रधानमन्त्री केपी ओलीको स्वार्थ बमोजिम चल्न थालेको उनले आरोप लगाए ।

कांग्रेस क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जनले कांग्रेस अब संगठन निर्माण र सुदृढीकरणलाई नयाँ शिराबाट थालनी गर्ने बताए ।

महिला नेतृ कल्याणी खडकाले सबै निरंकुशता समाप्त पारेको नेपाली कांग्रेसले कम्युनिस्ट निरंकुशतालाई सहजै समाप्त पार्ने बताइन् ।

कार्यक्रममा कांग्रेसका नेताहरू दामोदर गौतम, धर्मराज गौतम, गौरी दवाडी, दामोदर दवाडी, महिला नेतृहरू रिता ढकाल, मुना बास्तोला, अमिर खड्कालगायत नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Monday, 2020 December 28, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया