ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्छौं, अदालतको निर्णय स्वीकार पनि गर्छौः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमको विरोध गर्ने भन्दै अदालतको निर्णय स्वीकार गर्ने बताएका छन् ।

भक्तपुरमा सोमबार कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक पार्टी भएकाले कांग्रेसले अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका हुन् ।

‘हामी अदालतलाई धम्क्याउने गर्दैनौं । अदालतको निर्णय के हुन्छ त्यसलाई स्वीकार गरौं’, देउवाले भने, ‘संसद विघटनको असंवैधानिक कदमको हामी देशभर विरोध गर्ने छौं । छिट्टै केन्द्रीय समितिको बैठकबाट फेरि कहाँ कहाँ प्रदर्शन गर्ने भन्ने मिति तोक्ने छौं ।’

देउवाले कोभिडको महामारी कायमै रहेकाले सामाजिक दुरी लगायतका सचेतनालाई ध्यानमा राखेर प्रदर्शनमा सहभागी हुन पनि सबैलाई अनुरोध गरेका थिए ।

देउवाले कांग्रेस जनताको सेवाका लागि स्थापना भएको बताउँदै जनताको सेवा गर्न सधै तयार रहेको पनि बताए ।

‘हाम्रो पार्टीको काम जहिले पनि जनताको सेवा गर्ने, जनताको काम गर्ने र जनतालाई साथ दिने हो’, देउवाले भने, ‘ओलीको असंवैधानिक कदमका विरुद्ध भोलि अरु प्रदर्शनका लागि तयार हुन पनि म बसैलाई तयार रहन अनुरोध गर्दछु ।’

Published : Monday, 2020 December 28, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया