प्रचण्ड–नेपाल–खनालको ओलीसँग गुनासो ‘रुख’, ‘कुर्सी’ र ‘छुरा’

काठमाडौं । सडक आन्दोलन गर्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन जना शीर्ष नेताहरूले प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीको कठोर शब्दहरूमा आलोचना गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलानाथ खनालले ओलीलाई ‘गोमन सर्प’देखि तल्लो तहसम्मका गालीगलौज गरेका हुन् । उनीहरूले ओलीलाई गाली गर्नुपर्ने सबै शब्दावली खर्चिएका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीले एउटा बोल्ने र काम अर्कै गर्ने बुजुर्वा स्वभावको भएको बताएका छन् । उनले आफूले सताएर होइन ओलीले सताएर आफूहरू अलग हुनु परेको बताए ।

‘एउटा बैठकमा उहाँले मेरो कुर्सी पछाडि सारिदिनुभयो’, प्रचण्डले भने, ‘मैले उहाँसँग गुनासो गरिनँ बरूसँगै कुर्सी हुँदा म तपाईंसँग मात्र थिएँ अब त बाँकी सात जनासँग पुगें भनेर धन्यवाद दिएँ ।’
प्रधानमन्त्री ओलीले बाहिर मीठो बोले पनि गत वर्षदेखि नै आफूलाई सिध्याउन लागेको उनले बताएका छन् ।

‘उहाँ बाहिर बोल्दा मीठो बोल्नुहुन्छ । भित्रभित्रै छुरा घोप्नुहुन्छ’, प्रचण्डले भनेका छन्, ‘बाहिर भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न भन्नुहुन्छ । भित्रभित्रै संरक्षण पनि गर्नुहुन्छ ।’

दोस्रो वरीयताका अध्यक्ष नेपालले नेकपाको सबै सम्पति आफूहरूको हुने दाबी गरेका छन् ।
नेपालले नेकपाको सबै सम्पत्ति आफूहरूको हुने र कुनै निजी सम्पत्ति भए आफूहरूले नलिने बताएका हुन् ।

‘नेकपाको सबै सम्पत्ति हाम्रो हुन्छ’, नेपालले भने, ‘कुनै प्राइभेट कम्पनीको सम्पत्ति छ भने लिदैनौं ।’
‘ओली संघीयता र गणतन्त्रविरोधी हुन्’, नेपालले भने, ‘कम्युनिस्ट सिध्याउने गोर्भाचोभ हुन् ।’

नेकपाका अध्यक्ष नेपालले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्रविरोधी भएको आरोप लगाए ।
‘केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी हुन् । कम्युनिस्ट आन्दोलन सिध्याउन लागेका छन्’, नेपालले भनेका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले रूखका बोक्रा निस्किदैमा रूखै ढलेको भन्न नमिल्ने बताएका छन् । खनालले रूखको बोक्रा चोइटिएर गएको बताए ।

‘रुखका बोक्रा निस्किँदैमा रुख ढलेको भन्न मिल्दैन’, खनालले भने, ‘बोक्रा चोइटिएर गएको हो ।’
उनले केही समयअघि भारतीय गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ’का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री ओलीबीच भएको कुराकानी अहिलेसम्म सार्वजनिक नगरिएको बताएका छन् । खनालले भने, ‘गोयल किन आए ? किन भेटे ? अहिलेसम्म थाहा छैन ।’

Published : Friday, 2020 December 25, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया