आफ्नै जिल्लामा एक्लिए शंकर पोखरेल, महराले देखाए अन्तिममा ‘पावर’

घोराही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको समूहलाई साथ दिएको छ ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिअनुसार दाहाल–नेपाल समूहलाई सहयोग गर्ने निर्णय रहेको छ ।

‘यो बैठक पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरिएकोमा त्यस कदमको भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्षौंदेखिके राजनीतिक अस्थिरतालाई समाप्त गर्न नेपालको संविधान ०७२ मा जननिर्वाचित प्रतिनिधि सभा विघटनको कल्पना समेत गरिएको छैन ।’

अध्यक्ष खड्काले भनेका छन्, ‘संविधानको मर्म र व्यवस्थाका विरुद्ध असंवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभाको तत्कालन पुनर्वहालीको माग गर्दछ ।’

‘पार्टी अध्यक्ष केपी ओलीमा दक्षिणपन्थी विचलन आएको र प्रतिक्रियावादी शक्तिबाट परिचालित भई मुलुकको सिंगो कम्युनिस्ट आन्दोलनप्रति गरिएको गद्धारीका विरुद्ध हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूमा एकजुट भई प्रतिवद गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टी एकताका पक्षमा दृढताका साथ लाग्न र केपी ओलीको असंवैधानिक कदमका विरुद्ध एकजुट हुन हाम्रो पार्टीका सबैलाई अपील गर्दछ’, अध्यक्ष खड्काले भनेका छन् ।

संयुक्त विज्ञप्तिमा नेकपा दाङका ईञ्चार्ज जीवन गौतम, अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुनले हस्ताक्षर गरेका छन् ।

दाङबाट नेकपाका नेता शंकर पोखरेलले ओलीलाई साथ दिएका छन् । पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत छन् । आफ्नै गृहजिल्ला दाङलाई नेता पोखरेलले ओली समूहको पक्षमा बनाउन सकेनन् ।

दाङमा नेकपाका नेता कृष्णबहादुर महराको बर्चश्च देखिएको छ । महिलासँगको यौनकाण्ड लागेपछि सभामुख पद गमाएर काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका महराले नेकपाको विवादमा दाङमा आफ्नो दब्दबा कायम राखेका छन् ।

महरा मंगलबारनै स्थायी समिति सदस्य मनोनीत पनि भएका छन् । महराले दाङलाई ओली समूहतिर जानबाट रोकेर मुख्यमन्त्री पोखरेललाई आफ्नो पावर देखाइदिएका छन् ।

Published : Tuesday, 2020 December 22, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया