ललितपुर कांग्रेसले प्युटारमा होनहार युवा गुमायो, स्व.गोलेप्रति श्रद्धाञ्जलि व्यक्त

प्युटार । नेपाली कांग्रेस ललितपुरका नेताहरूले युवा नेता स्व.प्रेमबहादुर गोलेको अल्पआयुमा निधन हुँदा पार्टीले होनहार कार्यकर्ता गुमाएको बताएका छन् ।

ललितपुरको बागमती गाउँपालिकाको प्युटारका जुझारु युवा नेता स्व.प्रेमबहादुर गोलेको निधन भएको ४९औँ दिनमा सोमबार उनकै घरमा श्रद्धाञ्जलि कांग्रेसले शोक सभा राखेको थियो ।

कांग्रेस नेताहरूले स्व.गोलेले पार्टीलाई पुर्‍याएको योगदानको कदर र सम्मान हुनुपर्ने बताएका छन् । स्व.गोलेका परिवारजनप्रति ललितपुर कांग्रेसका नेताहरूले समवेदना प्रकट गरेका छन् ।

ललितपुर कांग्रेसका पार्टी सभापति मदनबहादुर अमात्यले प्रेमबहादुर गोलेले कांग्रेसमा ठूलो योगदान गरेको भन्दै स्मरण गरे । उनले गोले जस्ता होनहार युवा गुमाउँदा ललितपुर कांग्रेसलाई ठूलो क्षति भएको बताए ।

कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले स्व.प्रेमबहादुर गोलेको अभाव ललितपुर कांग्रेसलाई सधैँ रहने बताए । उनले भने, ‘प्रेमबहादुर गोले जस्ता युवालाई गुमाउनुपर्दा हामी मर्माहत भएका छौँ । उहाँको अभाव हामीबीच सधैँ रहनेछ ।’

प्रेमबहादुर गोलेलाई श्रद्धाञ्जलि दिन निधन भएको आज ४९औँ दिन पारेर उनकै घरमा शोक सभा कार्यक्रम गरिएको थियो । शोक सभाको सभापतित्व बागमती गाउँपालिका वडा नम्बर ४ का सभापति सुनबहादुर लामाले गरेका थिए ।

शोक सभामा नेपाली कांग्रेस ललितपुर सभापति आमात्य, कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष वीरबाहदुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनालगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2020 December 22, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया