नेकपा फुट्ने बेला सप्तरीमा सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश, नेता बस्नेतद्वारा स्वागत

राजविराज । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेसको खेलकुद विभागले रक्तदानको कार्यक्रम गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताहरूले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख मोहन बस्नेतले धन्यावाद दिएका छन् ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित खेलकुद विभागले रक्तदानको कार्यक्रम गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा नेता बस्नेतका साथै सप्तरी कांग्रेसका सभापति दिनेशकुमार यादवलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

रक्तदानको कार्यक्रममा शम्भुनाथ नगरपालिकामा रहेका नेकपा र अन्य विभिन्न राजनीतिक दल परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई नेता बस्नेतले स्वागत गरेका छन् ।

कांग्रेस नेता बस्नेतले संसद विघटन भएकोमा विरोध गर्दै कांग्रेसले जनताको अभिमतको सम्मान गर्ने बताए । उनले जनताले दिएको दुईतिहाइको अभिमतको कदर गर्न नसक्ने कम्युनिस्टहरूलाई जनताले अबको निर्वाचनमा दण्ड दिन अनुरोध गरे ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले कम्युनिस्टहरूलाई जनताले दिएको दुईतिहाइको बहुमत बाँदरलाई नरिवल सावित भएको बताए । उनले देश बचाउन कांग्रेसलाई जनताले साथ दिने बताए ।

Published : Monday, 2020 December 21, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया