ओलीको जिल्ला भक्तपुरमा हाइअलर्टमा तरुण दल, कम्युनिस्ट स्यालहरूलाई लखेट्ने चेतावनी

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले जनताले विश्वास गरेर दिएको झण्डै दुईतिहाइको बहुमत कम्युनिस्टहरूका लागि बोक्नै नसक्ने भारी भएको जनाएको छ ।

तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले आइतबार प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसद विघटन गर्न गरिएको निर्णयको विरोध गर्दै भारी बोक्न नसक्ने कम्युनिस्टहरूलाई निर्मूल पार्नुपर्ने बताए ।

‘जनताले दिएको जनमतको कम्युनिस्टहरूले अपमान गरेका छन् । आन्तरिक विवाद र नेताहरूको झगडाले बीच बाटोमा जनतालाई धोका दिएका छन्’, उनले भने, ‘कम्युनिस्टहरू जिम्मेवारीबाट भागेका छन् । लोकतन्त्रबाट डराएका छन् ।’

भक्तपुर तरुण दलले अधिनायकवादी कम्युनिस्ट सरकारको हर्कतको डटेरा सामना गर्ने चेतावनी दिएको छ । ‘हामी केन्द्रको निर्देशन पर्खेर तयारी अवस्थामा बसेका छौँ’, अध्यक्ष थापाले भने, ‘कम्युनिस्टहरूको अधिनायकवादी हर्कतविरुद्ध कुनै पनि बेला सडकमा गएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने तयारी अवस्थामा छौँ ।’

भक्तपुर तरुण दलले कांग्रेसको नेतृत्वमा बनेको संविधानअनुसार चल्न कम्युनिस्टहरूलाई सचेत गराएका छन् । अध्यक्ष थापाले भने, ‘कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने दायित्व हामी तरुणहरूको काँधमा आएको छ । कम्युनिस्टहरू देश र जनताको पक्षमा कहिल्यै पनि हुँदैनन् ।’

अध्यक्ष थापाले कम्युनिस्टहरूलाई स्यालको संज्ञा दिएका छन् । उनले भने, ‘स्यालहरूका दिनगन्ती शुरु भएको छ । संविधानविरुद्धका गतिविधि गर्ने कम्युनिस्ट स्यालहरूलाई लखेट्छौँ ।’

भक्तपुरको बालकोटमा प्रधानमन्त्री ओलीको घर रहेको छ । ओलीले संविधान विपरितको कार्य गरेपछि भक्तपुर तरुण दलले आन्दोलनको धम्की दिएको छ ।

Published : Sunday, 2020 December 20, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया