दरबारमार्गमा हाइप्रोफाइल दुई महिलासहित आठ जना जुवाडे ग्याङ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गले हाइप्रोफाइल जुवाडेहरूको ग्याङलाई नगदसहित पक्राउ गरेको छ ।

बिहीबार राति साढे आठ बजे दरबारमार्गको जय नेपाल फिल्म हल नजिकै रहेको ‘वान वेएके’ होटेल एण्ड लाउञ्ज रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा छ जना पुरुष र दुई जना महिला गरि आठ जनालाई रंगेहात पक्राउ गरिएको दरबारमार्गका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली रहेका छन् । दुई जना महिलामा रञ्जना ढकाल र ओममाया गुरुङ रहेको डीएसपी पौडेलले जानकारी दिए ।

वान वेएके होटेल एण्ड लाउञ्ज बारका मालिक प्रकाश लामाले जुवा खोलाएको डीएसपी पौडेलले बताएका छन् । जुवाको खालबाट प्रहरीले ५ लाख १८ हजार रुपियाँ नगद र केही थान चेक बरामद गरेको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी पौडेलले बताएका छन् । पक्राउ परेका सबैलाई दरबारमार्गको हिरासतमा राखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जुवा खेल्ने ठाउँमा १५ जना जुवाडे रहेका थिए । जुवा खेलाउने मुख्य नाइके दिनेश लामासहित ७ जनालाई भागेकाे स्रोतको दाबी छ । प्रहरीले जुवाको खालबाट आठ जना मात्रै पक्राउ परेको जनाएको छ ।

Published : Thursday, 2020 December 17, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया