कांग्रेसले सरकारविरुद्ध थप कार्यक्रम ल्याउने, डा.महतद्वारा मोरङका नेता कार्यकर्तासँग परामर्श
पथरी । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले निर्वाचनसम्म आन्दोलन जारी रहने बताएका छन् ।
मोरङ जिल्लाको पथरी शनिश्चरे, मंगलबारे, उर्लाबारी लगायतका स्थानमा मंगलबार आयोजित कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले केन्द्रबाट थप विरोधका कार्यक्रम ल्याउने बताए । आन्दोलन गर्ने उचित समय रहेको भन्दै उनले निर्वाचनसम्म जनतासँग सडकमा कांग्रेस रहने बताएका छन् ।
उनले नेताहरू सहभागी भएर देशभरि सभाहरू गर्ने सहमति बनेको बताए । आन्दोलनसँगै १४औँ महाधिवेशनको तयारी गर्ने पनि तयारी गरिने डा.महतले बताए ।
केन्द्रीय कार्यसमितिको बैठक छिटोभन्दा छिटो बसेर माधिवेशनको तयारीबारे निर्णय गर्ने सह–महामन्त्री डा.महतले बताए । ‘हामी एकअर्कामा शत्रु होइन । हामीले एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होइन’, उनले भने, ‘व्यक्ति बलियो भयो भने कांग्रेस बलियो हुँदैन । म भए सबै ठीक हुन्छ अरु भए ठीक हुँदैन भन्ने कुरा गर्नु हुँदैन ।’
राष्ट्रियताको सवालमा कम्युनिस्ट सरकारले कमजोर बनाएको उनले आरोप लगाका छन् । सरकारले मुलुकमा विदेशी हस्तक्षेप भित्र्याएको उनले बताए ।
मुलुकमा अत्याधिक भ्रष्टाचार भएको भन्दै उनले भने, ‘लाखमा भ्रष्टाचार हुँदैन । अरबमा भ्रष्टाचार भएको छ । सरकार सुध्रिन्छ जस्तो मलाई लाग्दैन ।’
डा.महतले कम्युनिस्टको सरकारलाई परास्त गरेर कांग्रेसको बहुमतको सरकार बनाउनुपर्ने बताए ।
‘यो सरकारलाई परास्त गरेर अर्को सरकार बनाउनुनै बिकल्प हो’, उनले भने, ‘कांग्रेसले जितेर आफ्नो बहुमतको सरकार बनाउँछ ।’
सह–महमन्त्री डा.महतले १४औँ महाधिवेशनपछि अहिलेका जिल्ला कार्यसमितिहरू जिल्ला समन्वय समितिका रुपमा मात्रै रहने बताएका छन् । ‘कांग्रेसको जिल्ला कार्यसमितिहरू जिल्ला समन्वयात्मक मात्रै हुनेछन्’, उनले भने, ‘क्षेत्रीय समितिहरू पावरफुल हुन्छ । गाउँपालिका र नगरपालिकाका कार्यसमितिहरू पावरफुल हुन्छन् ।’
कांग्रेसमा प्रवेश गरेका वा समायोजन भएका अरु दलका कार्यकर्ताहरूलाई दिने क्रियाशील सदस्यताहरूमा विवाद भएपछि छाननिव र अध्ययन भइरहेको उनले बताएका छन् ।
हिन्दू धर्मका विषयमा डा.महतले भने, ‘धार्मिक स्वतन्त्रता हुनुपर्छ । हाम्रो धर्मसंस्कृतिले हामीलाई पहिचान दिएको छ । त्यसको संरक्षण गर्नुपर्छ । धर्म संस्कृतिलाई हामीले सुरक्षाको अनुभूति दिनुपर्छ ।’
कांग्रेसका सह–महामन्त्री डा.महतसँग मोरङका स्थानीय नेता तथा कार्यकर्ताहरूले भावी आन्दोलन, सरकारको गतिविधि, पार्टीको आन्तरिक विषय, हिन्दू राष्ट्र, १४औँ महाधिवेशन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
डा.महतले सोमबार सरकार विरोध कार्यक्रमलाई झापामा सम्बोधन गरेका थिए । झापापछि मंगलबार उनी मोरङका विभिन्न स्थानहरूमा पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाटमा छन् ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया