नेपालमा ८४ प्रतिशत हिन्दू छन् भन्ने तथ्याङ्कनै गलतः कांग्रेस नेता भट्टराई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले हिन्दूको तथ्याङ्क गलत रहेको बताएका छन् ।

आइतबार ‘योहो’ टेलिभिजनसँगको अन्तर्वार्तामा नेता भट्टराईले ८४ प्रतिशत हिन्दू रहेको मुलुकमा गाई काटेर मासु खुवाउने र मन्दिर भत्काउने पार्टीलाई प्रतिशत मत आएको भन्दै हिन्दू धर्मसम्बन्धी तथ्याङ्क गलत रहेको दाबी गरे ।

‘गत निर्वाचनलाई तथ्याङ्कमा विश्लेषण गर्ने हो भने त्यो ८४ प्रतिशत हिन्दू भन्ने तथ्याङ्क नै गलत छ भन्ने मेरो विश्लेषणले देखाउँछ’, उनले भने, ‘५० प्रतिशत भोट कम्युनिस्टले लगेको छ । ती साँच्चिकै हिन्दू हुन् भने धर्म अफिम हो भन्ने कम्युनिस्टलाई किन भोट हाले ? ल त्यो पनि विर्सिए भने पनि एमालेसँग कार्यगत एकता गरेको हिजो मात्रै गाई काटेर खुवाउने, मन्दिर भत्काउने पार्टीलाई भोट दिने मान्छेहरू कसरी हिन्दू हुन सक्छन् ?’

‘अहिले भोटको हिसाब र जनमतको हिसाबले मैले ब्याख्या गरे भने हिन्दूको तथ्याङ्क र ब्याख्यासँग मेल खादैन’, उनले भने, ‘अहिले कसको सरकार छ ? कम्युनिस्टको । अरु सानातिना कम्युनिस्ट पनि छन् ।’

‘हाम्रो हिन्दूहरूको संख्या ८४ प्रतिशत छन् भन्ने तथ्याङ्कले देखाउँछ’, कांग्रेस नेता भट्टराईले भने, ‘कम्युनिस्टले भोट कति पाए ? ५० प्रतिशत । कम्युनिस्टको आदर्श के ? धर्म अफिम हो भन्ने । पूजापाठ गर्न पाइनेछैन भन्ने ।’

‘प्रचण्डको पार्टीले गाई काटेर मात्रै होइन, बाहुनदेखि सबैको मुखमा कोचाएर खुवाकै हो । रजश्वला भएको महिलालाई लगेर शिव लिङ्गमा पिसाव फेराउने पार्टीलाई ५० प्रतिशत भोट आउँछ ती कम्युनिस्टको भने, हिन्दूहरूको जनमत कहाँनेर छ ? मेरो प्रश्न छ’, नेता भट्टराईले भनेका छन् ।

कांग्रेस नेता भट्टराईले भने, ‘भोटभरि मन्दिर भत्काउने र गाई काटेर मासु खुवाउने कम्युनिस्टलाई दिने । अरुसँग हिन्दूराष्ट्रको माग गर्ने ?’

‘हिन्दूराष्ट्र हुँदा मलाई नोक्सान हुने कुनै कुरा छैन । मपनि हिन्दू नै हुँ’, उनले भने, ‘हामीलाई हिन्दूसँग मात्रै जोडिएको छैन । लामो संस्कृतिसँग जोडिएको छ । हिन्दू भनेको मन्दिरमा पूजा गर्ने मात्रै होइन । यसको आफ्नै महत्व छ ।’

उनले भनेका छन्, ‘हिन्दूधर्मबाट अरु धर्म निस्किएको देखिन्छ । मैले पढ्दा त्यो देखिन्छ । कसैलाई यो कुरा मन नपर्ला ।’

‘धर्मलाई विश्लेषण गर्ने हो भने । धर्मको राजनीति गर्ने कि नगर्ने भन्ने अर्को पाटो छ । विचारको राजनीति गर्ने कि धर्मको राजनीति गर्ने अर्को पाटो छ’, उनले भने ।

हिन्दूराष्ट्रका विषयमा आन्दोलन र बहसहरू चलिरहेका बेला कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले नेपालमा ८४ प्रतिशत हिन्दू छन् भन्ने तथ्याङ्कमाथि प्रश्न उठाएका हुन् ।

Published : Sunday, 2020 December 13, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया