अर्घाखाँचीमा १८ जना लोकप्रिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
मालारानी । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् संसदीय दलकी सचेतक पुष्पा भुसालले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको आरोप लगाएकी छिन् ।
शनिबार मालारानी गाउँपालिका– ५ बाँगी भडारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले जनता कोरोनाको महामारीमा रहेका बेला कम्युनिस्ट नेताहरू सत्ताको जितहारको खेलमा रहेको बताइन् ।
‘खड्गप्रसाद ओलीले नै भ्रष्टाचारको काण्डैकाण्डमा चुर्लुम्म डुबेका नेकपाका नेता र मन्त्रीहरूलाई संरक्षण गर्न लाग्नुभएको छ’, उनले भनेकी छिन्, ‘ओलीले नै भ्रष्टाचारीको संरक्षकको रुपमा भूमिका खेल्नुभएको छ ।’
दुईतिहाइ जनमतलाई कम्युनिष्टले कदर गर्दै देश र जनताको पक्षमा विकास गर्न छाडेर आफूभित्रैबाट कुर्सी तानतानमा लागेको कांग्रेस नेतृ भुसालले बताएकी छिन् । उनले कम्युनिस्ट नेताहरू सत्ताको मोहमा डुबेको बताएकी छिन् ।
‘भ्रष्टाचारको आहलमा चुर्लुम्म डुबेको सरकारबाटै लोकतन्त्र मासिने खतरा बढेर गएको छ’, उनले भनेकी छिन्, ‘लोकतन्त्र बचाउन सबै एकजुट भएर कांग्रेसको पक्षमा जनलहर ल्याउनुपर्छ ।’
उनले नेकपाका शीर्ष नेता नै सत्तामा लिप्सामा लागेको भन्दै प्रधानमन्त्री ओलीको कुर्सी खोस्न पुष्पकमल दाहाल र माधव नेपाल समूह लागेको बताइन् । उनले आफ्नै प्रधानमन्त्रीको कुर्सी बचाउन ओलीलाई हम्मेहम्मे भएको बताएकी छिन् ।
कांग्रेस नेतृ भुसालले कम्युनिस्ट सरकारको गलत क्रियाकलापका विरुद्ध कांग्रेस सडकमा आएर सशक्त आन्दोलन गर्ने लागेको बताइन् ।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनालले विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई स्वागत गरेका छन् । उनले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।
सभापति खनालले दुईतिहाइको मतलाई अपमान गर्दै कम्युनिस्ट सरकारले भ्रष्टचार, अनियमितता र लोकतन्त्र नै मास्न लागिपरेको आरोप लगाएका छन् ।
कार्यक्रममा कांग्रेस पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, उप–सभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, प्रदेश सांसद निर्मला क्षेत्री, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्मा, जिल्ला सदस्य हेमन्त बेल्वासेको उपस्थिति रहेको थियो ।
सीता भुसाल, विष्णु क्षेत्री, नेत्रप्रसाद भटराई, मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, तरुण दलका अध्यक्ष नारायण खड्का, नेविसंघका अध्यक्ष भरतमणि भटराई लगायतका जिल्लास्तरीय नेताहरूले पनि सम्बोधन गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा, राष्ट्रिय जनमोर्चाबाट १८ जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको अर्घाखाँची कांग्रेसको प्रचार विभाग प्रमुख माधव पौडेलले जानकारी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया