कांग्रेसको रगत कम्युनिस्टहरूलाई पनि दिइने, सुर्खेतमा कांग्रेसको रक्तदान

वीरेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले जनताको जीवन बचाउन कांग्रेसले रक्तदान गरेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले कोरोना महामारीका बेला रगत अभाव नहोस् भनेर रक्तदान गरिएको बताए । उनले कांग्रेसले रगत दिएर बिरामीहरूको उपचारमा सहयोग गरेको बताए ।

‘पार्टी सभापति शेरबहादुर देउवाले रगत अभाव हुँदै गर्दाको भयावह अवस्था आउँछ यसलाई कांग्रेसले ख्याल गर्नुपर्ने भनेर रक्तदानका लागि निर्देशन दिनुभएअनुसार रक्तदान गरेका हौँ’, उनले भनेका छन् ।

सभापति देउवाको सल्लाह र निर्देशनमा खेलकुद विभागले देशभरि रक्तदान कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

कम्युनिस्ट सरकारविरुद्ध आक्रामक देखिएका नेता बस्नेतले भने, ‘कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन् । अवसर पाउन लाइन लागेका छन् ।’

‘कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन्’, कांग्रेस नेता बस्नेतले भने, ‘हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरूलाई पनि काम लाग्छ ।’

‘कांग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको छ’, नेता बस्नेतले भनेका छन् ।

विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएको छ ।

यसैबीच, खेलकुद विभागले सुर्खेतको वीरेन्द्रनगरमा ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रम गरेको छ ।

शुक्रबार भएको रक्तदान कार्यक्रमको संयोजन कांग्रेस नेता दीपक राई र शिव आचार्यले गरेका थिए । लोकतान्त्रिक खेलकुद संघ सुर्खेतका अध्यक्ष मंगल श्रेष्ठले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थामी, सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्ट, वीरेन्द्रनगर नगरपालिका मेयर एवम् युवा नेता देवकुमार सुवेदी, तरुण दल सुर्खेतका अध्यक्ष हरिबहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ५३ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । कार्यक्रमको सभापतित्व सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मीले गरेका थिए ।

रक्तदाताहरूलाई नेपाली कांग्रेसको पार्टी कार्यलय परिसरमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय सदस्य एवम् विभागका प्रमुख बस्नेतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

Published : Saturday, 2020 December 12, 12:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया