विवादै विवादमा घेरिएका पोखरेलले एआईजीको जिम्मेवारी सम्हाले

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका विश्वराज पोखरेललाई दर्ज्यानीय चिन्हद्वारा प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । विवादै विवादमा घेरिएका एआईजी पोखरेलले शुक्रबार नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

महानिरीक्षक क्षेत्रीले अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।

उनले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने बताएका छन् ।

अतिरिक्त महानिरीक्षक पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आफूभन्दा सिनियर प्रहरी अधिकृतहरूलाई राजनीतिक शक्तिको आडमा पछाडि पार्दै एआईजीमा बढुवा भएको भन्दै पोखरेलको आलोचना हुँदै आएको छ ।

उप–प्रधानमन्त्री ईश्वर पोखरेलको दवाव र निर्देशनमा पोखरेलाई एआईजी बनाएको आरोप छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन विपरित कम्युनिस्ट सरकारले पोखरेललाई एआईजीमा बिहीबार बढुवा गरेको थियो ।

Published : Friday, 2020 December 11, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया