कांग्रेस कमजोर हुँदा लोकतन्त्र र विधिको शासन कमजोर भयोः रामहरि खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा कांग्रेस पार्टी कमजोर हुँदा लोकतन्त्र र विधिको शासन कमजोर भएर गएको बताएका छन् ।
गृहजिल्ला ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको घोराखरीमा आयोजित पार्टी कार्याकर्ता भेटघाटलाई सम्बोधन खतिवडाले जनताले विश्वास गरेर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिँदा पनि जनताका आधारभूत आवश्यक्ता पूरा गर्न नसकेको बताए । जनताले दिएको मतको नेकपाका नेताहरूले दुरुपयोग गरेको बताए ।
‘कांग्रेसले हार्दा देशमा भ्रष्टचार, निरंकुश शासन पद्धति धेरै बढेर गएको छ’, उनले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक पद्धतिनै खतरामा परेको छ । कम्युनिस्टहरू बहुमतको दम्भको आडमा सरकारलाई निरंकुश बनाउँदै छन् ।’
कांग्रेसका नेता खतिवडाले अधिनायकवादतिर जान लागेको कम्युनिस्ट सरकारलाई ठीक ठाउँमा ल्याउन प्रतिकार गर्न गाउँबाटै शुरु गर्नुपर्ने बताए । उनले कम्युनिस्ट अधिनायकवादको विरोधमा उत्रिन कार्यकर्ताहरूलाइ निर्देशन दिएका छन् ।
नेता खतिवडाले लोकतन्त्रलाई सार्थक बनाउन कांग्रेसले जित्नुपर्ने बताएका छन् । ‘कम्युनिस्टले जितेका कारण मुलुकको राष्ट्रियता खतरामा परेको छ’, उनले भने, ‘देश र जनताका लागि कांग्रेसले जित्नुपर्छ । यो कुरा गाउँका जनताले बुझ्न जरुरी छ ।’
पार्टीभित्रको आन्तरिक विवादका विषयमा चिन्तित देखिएका युवा नेता खतिवडाले शीर्ष नेतृत्वलाई गाली गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् । उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै गाली गरेर कांग्रेस पार्टीमा सुधार नहुने बताए ।
‘गाउँमा शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई गाली गरेर मात्रै हुँदैन । गाउँमा संगठन बनाउने तपाई हामीले हो’, उनले भने, ‘नेताको मान्छेभन्दा पनि कांग्रेसको मान्छे भएर काम गर्नुपर्छ ।’
‘गाउँ–गाउँमा समेत रामचन्द्र पौडेल र शेरबहादुर देउवाको मान्छे म हुँ भन्ने मनसिकता भएकाले कांग्रेसभित्र समस्या देखिएको छ’, खतिवडाले भने, ‘नेताहरूले पनि तेरो र मेरो कार्यकर्ता भनेर वर्गीकरण गर्नु हुँदैन ।’
गृहजिल्ला ओखलढुंगामा रहेका नेता खतिवडाले विभिन्न गाउँ, टोलहरूमा पुगेर पार्टीको संगठन र १४औँ महाधिवेशनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
खतिवडाले सरकारविरुद्धको मंसिर २९ गते हुन लागेको देशभरिको आन्दोलनमा सक्रिय सहभागिताका लागि अपील गरेका छन् । उनले अधिनायकवादी चरित्र बोकेको खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया