रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगार व्यवसायीहरू प्राथमिकतामाः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएको छ ।

काठमाडौंको बत्तीसपुतलीमा बिहीबार आयोजित कार्यक्रममा संघका अध्यक्ष विष्णुप्रसाद गैरेसहितका पदाधिकारीले महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारी र सदस्यहरूलाई बधाइ दिएका हुन् ।

अध्यक्ष गैरेले महासंघको नयाँ कार्यसमितिले वैदेशिक रोजगार व्यवसायीहरूका समस्यालाई समाधान गर्न सरकारसँग समन्वयनको भूमिका खेल्न आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष गोल्छाले सबै व्यवसायीहरूको सहयोग, शुभेच्छा र सहकार्यका साथ आफूहरू अगाडि बढ्ने बताएका थिए । गोल्छाले वैदेशिक रोजगार व्यवसाय र व्यवसायीका समस्या समाधान गर्न महासंघमा वैदेशिक रोजगार फोरम स्थापना गरिने आश्वासन दिएका छन् ।

उनले महासंघभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताए ।

देशमा रेमिट्यान्स भित्र्याउन र अर्थतन्त्रलाई जोगाउन वैदेशिक रोजगार व्यवसायीहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष गोल्छाले प्रशंसा गरेका छन् । उनले वैदेशिक रोजगार व्यवसायीहरू आफ्नो प्राथमिकतामा पर्ने उल्लेख गरेका छन् ।

महासंघको कार्यसमिति सदस्यमा संघका अध्यक्ष गैरे सदस्यमा निर्वाचित भएका छन् ।

Published : Thursday, 2020 December 10, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया