साउदी अरबका कर्मचारीको एम्बेसीभित्रैबाट अबैध धन्दा, सरकार र व्यवसायीहरूलाई चुनौति

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न खालका समस्याहरू भएको भनेर गुनासा आइरहेका बेला साउदी अरबमा नेपाली कामदार लैजानेसम्बन्धमा साउदी अरबकै कर्मचारीहरूले गोरख धन्दा चलाएको रहस्य बाहिरिएको छ ।

हिन्दी भाषा बोल्ने साउदी अरबका एकजना कर्मचारीले नेपाली मेनवापर कम्पनीलाई फोन गरेर ‘तेरो कम्पनीविरुद्ध उजुरी परेको छ, अर्को कम्पनीमार्फत नेपाली कामदार पठाउनुपर्छ’ भनेर सिधै भनेका छन् ।

रिपब्लिका दैनिकले फेला पारेको टेलिफोनको अडियोमा साउदी अरबको राजदूतावासका कर्मचारी बताउने ती व्यक्तिले मेनपावर कम्पनीसँग बागर्नेनिङ गरेका छन् । उनले मेनपावर कम्पनीलाई धम्काएर सेटिङमा अर्को कम्पनीलाई डिमाण्डको स्वीकृति दिने खेल गरेका छन् ।

साउदी अरबका ती कर्मचारीले सेटिङमा कामदार पठाएर रकम कुम्ल्याउन विभिन्न तिकडमहरू अपनाएका छन् ।

यसअघि पनि कतारमा नेपाली कामदार लैजाने विषयमा १७ वटा मेनपावर कम्पनीले सेटिङ गरेको भनेर समाचार बाहिरिएको थियो । सो विषयमा वैदेशिक रोजगार व्यवसायी संघ, श्रम मन्त्रालयलगायतका निकायले अनुसन्धान र छानविन गरेको थियो ।

वैदेशिक रोजगारीभित्र रहेको बिकृति हटाउन सरकारले बेलाबेला प्रयासहरू गर्ने गरेको छ । तर, बिचौलिया, दलाल, एम्बेसीका कर्मचारी, नेपाली कर्मचारीलगायतका सेटिङमा काम हुने गरेका गुनासाहरू आइरहेका छन् ।

अहिले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार छ । यो सरकारले यस्ता बिकृति रोक्न र हटाउन सक्छ । साउदी अरबकै राजदूतावासका कर्मचारीहरू अबैध धन्दामा लागेपछि नेपाल सरकार र नेपाली व्यवसायीहरूलाई झञ्जटको विषय बनेको छ ।

साउदी अरबको एम्बेसीका कर्मचारीको धन्दावाल अडियो सार्वजनिक भएपछि साउदी अरबको नियामक निकायले ती कर्मचारीलाई कारबाही गर्छ वा गर्दैन हेर्न बाँकी छ ।

Published : Thursday, 2020 December 10, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया