दाङ कांग्रेसका नेताहरू भन्छन्, ‘केन्द्रको निर्देशन पर्खेर बसेका छौँ, ढिला नगरौँ’
लमही । नेपाली कांग्रेस दाङका नेताहरूले स्थानीय निकायमा पार्टीलाई क्रियाशील बनाउन केन्द्रबाट कार्यक्रम दिन आवश्यक रहेको बताएका छन् ।
दाङको देउखुरीस्थित लमहीकाे मन्त्र हाेटेलमा मंगलबार बिहान नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासँगको भेटघाट र अनौपचारिक छलफलमा नेताहरूले कम्युनिस्टको बिकल्पमा जनताले कांग्रेसको खोजी गर्न शुरु गरिसकेको बताएका हुन् । कम्युनिस्टहरूको भ्रष्टाचार र कु–शासनको पीडाले जनता आजित भएको दाङ कांग्रेसका नेताहरूले उल्लेख गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले सरकारबाट जनताका कुनै पनि काम हुन नसकेको बताए । ‘जनताले कम्यनिस्टको बिकल्प खोज्न थालेका छन् । कांग्रेसप्रति जनाको आशा र भरोसा देखिन थालेको छ’, उनले भने, ‘कांग्रेसका हामी नेताहरूले आफूलाई सुधार गरेर गाउँमा क्रियाशील बनाउनुपर्छ ।’

पार्टी नेतृत्वले गम्भीर भएर जिल्ला, क्षेत्र, स्थानीय तह र गाउँका लागि कार्यक्रम दिनुपर्ने केन्द्रीय सदस्य चौधरीले बताए ।
केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरीले कांग्रेसका नेताहरू मिलेर जाने हो भने कसैको ताकतले पनि कांग्रेसलाई हराउन नसक्ने बताइन् । उनले पार्टीभित्रको गुटबन्दीले समस्या बनाएको गुनासो गरिन् । ‘पार्टीभित्र गुट हुनु स्वभाविक भएपनि त्यसलाई सहि ठाउँमा सदुपयोग गर्नुपर्छ’, उनले भनिन्, ‘हामी पहिला मिलौँ । कम्युनिस्टसँग लडौँ । त्यसपछि । पार्टीभित्र जे गर्ने हो गरौँला ।’
पूर्वसांसद खतिवडाले कांग्रेसप्रति जनताको अपार समर्थन अहिले पनि रहेको भन्दै पार्टी नेतृत्वले जनताको भावनलाई बुझेर कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे । उनले भने, ‘हामी मिल्न सक्यौँ भने कांग्रेस रहन्छ । कांग्रेस रह्यो भने देश, जनता रहन्छन् । कांग्रेस कमजोर भयो भने राष्ट्रियता कमजोर हुन्छ ।’

खतिवडाले ओली सरकार आफू निकटका नेतालाई मात्रै धनी बनाउन लागेको भन्दै कम्युनिस्टहरूको भ्रष्टाचारको भण्डाफोर हुने गरेर कार्यक्रम ल्याउनुपर्ने बताए । उनले पार्टी नेतृत्वलाई आफूले पनि सुझाव दिने बताएका छन् ।
कांग्रेस नेतृ एवम् पूर्वसांसद सुशीला चौधरीले आफू गाउँमै बसेर संगठनमा काम गरिरहेको बताइन् । ‘म गाउँमै बसेर कार्यकर्ताहरूसँग भेटघाट सम्वाद गरिरहेको छु’, उनले भनिन्, ‘कांग्रेसप्रति कम्युनिस्टहरूनै आशावादी हुन थालेका छन् । कांग्रेसले मात्रै देशलाई निकास दिन्छ भनेर कांग्रेस मात्रै होइन कम्युनिस्टले नै भन्न थालेका छन् ।’

दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले स्थानीय तहमा आफूहरूले सक्दो कार्यक्रमहरू गरिरहेको बताए । ‘हामीले अहिलेसम्म १ हजारभन्दा धेरै नेकपाका कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याइ सकेका छौँ’, उनले भने, ‘सुगम भएपनि कतिपय गाउँहरूमा जान एक दिनभरि लाग्ने ठाउँहरू पनि छन् । गाउँमा कांग्रेसप्रतिको आकर्षण बढिरहेको पाएका छौँ ।’
कांग्रेसका युवा नेता एवम् प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेतले केन्द्रबाट कार्यक्रम दिइयो भने आफूहरूले कम्युनिस्टहरूको भण्डाफोर गर्न तयार रहेको बताए । उनले भने, ‘हामी केन्द्रको निर्देशन पर्खेर बसेका छौँ । गाउँ, टोल र वडाहरूमा पुगेर कम्युनिस्टहरूको गलत कामको भण्डाफोर गर्छौं ।’

नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ व्यवसायी किरणकिशोर घिमिरेले दाङमा मात्रै नभइ देशभरि कम्युनिस्टहरूप्रति वितृष्णा बढेर गएको बताएका छन् । उनले कांग्रेसको नेतृत्वले कार्यक्रम दियो भने जनता उत्साहित भएर सहभागी हुने बताए ।
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य एवम व्यवसायी प्रज्ञान न्यौपानेले युवाहरूलाई पार्टी अवसर दिन शुरु गरेको बताए । ‘हामीले काम गर्ने हो । पार्टीका नेताहरूलाई मात्रै गाली गर्न हुँदैन’, न्यौपानेले भने, ‘हामी आफूले पनि काम गर्नुपर्छ । देखाउनुपर्छ ।’
कांग्रेस नेता देवानजंग चौधरी, उद्योग वाणिज्य संघ लमहीका उपाध्यक्ष एवम् कांग्रेस नेता खगेश्वर खनाल, लमही नगरपालिका–४ का वडाध्यक्ष एवम् कांग्रेसका युवा नेता सुवास न्यौपाने, दाङका युवा नेता एवम् व्यवसायी शंकर योगी लगायतका नेताहरूले कांग्रेसको केन्द्रीय नेतृत्व जनतामा आन्दोलन घोषणा गरेर जान ढिलाइ गरिरहेको गुनासो गरे ।
उनीहरूले कांग्रेसले निर्देशन दिने हो भने आफूहरू आन्दोलनलाई चर्काउन तयारी अवस्थामा बसेको बताए ।

यसअघि, कांग्रेस नेता खतिवडाले दाङ कांग्रेसका पार्टी सभापति कीर्तिबहादुर खड्का, सचिव शंकर डाँगी, प्रतिनिधि सभाका पूर्वसांसद बुद्धिराम भण्डारी, कांग्रेस नेता एवम् वरिष्ठ व्यवसायी किरणकिशोर घिमिरे, कांग्रेसका युवा नेताहरू प्रज्ञान न्यौपाने, महेश श्रेष्ठ, केशव नेपालीलगायतसँग भेटवार्ता गरेका थिए ।
खतिवडाले पारिवारिक शोकमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व सचेतक ईश्वर न्यौपानेसँग हापुरस्थित निवासमा पुगेर भेट गरेका छन् । पति लक्ष्यबहादुर न्यौपानेको निधन भएपछि केन्द्रीय सदस्य न्यौपाने शोकमा रहेकी थिइन् ।
कांग्रेस नेता खतिवडाले तुलसीपुरस्थित दाङ कांग्रेसका नेता स्व.रेशमबहादुर भण्डारीका परिवारजनसँग पनि भेट गरेका थिए । स्व.भण्डारी कांग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीका भाइ समेत हुन् । स्व.भण्डारी तत्कालीन उरहरी गाविसमा १५ वर्षसम्म लगातार अध्यक्ष भएका थिए ।

खतिवडाले लमहीमा बन्दै गरेको नेपाली कांग्रेस क्षेत्र नं. १ को पार्टी कार्यालयको भवनको अवलोकन पनि गरेका थिए । त्यस क्रममा खतिवडाले पार्टी कार्यालय निर्माणमा आफूले सक्ने सहयोग गर्ने आश्वासन दिएको सभापति पाण्डेले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया