मन्त्री अर्यालद्वारा पत्रकारहरूलाई दुई लाख दशैँ–तिहार खर्च वितरण
पुतलीबजार । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले गृहजिल्ला स्याङजाका पत्रकारहरूलाई तिहार खर्च वितरण गरेकी छिन् ।
दशैँ–तिहार खर्च भनेर मन्त्री अर्यालले स्याङजाका सीमित पत्रकारहरूलाई आफ्नै घरमा बोलाएर दुई लाख रुपियाँ वितरण गरेको सुनौलो नेपाल डटकमले समचार लेखेको छ ।
तिहार मनाउन आएकी मन्त्री अर्यालले ‘चुनावमा सहयोग गरेको र जिल्लामा आफ्नो पक्षमा राम्रो समाचार लेखेको’ भनेर सो रकम वितरण गरेकी हुन् । मन्त्री अर्यालबाट खर्च पाउनेमा स्याङजाका १८ जना पत्रकार रहेका छन् ।
मन्त्री अर्यालले दिएको दुई लाख रुपियाँ स्याङजाका १८ जना पत्रकारले जनही ११ हजारका दरले वितरण गरेर लिएको समाचार सुनौलो नेपालले उल्लेख गरेको छ ।
भाइटीकाको अघिल्लो दिन पत्रकारहरूलाई शुभकामना आदानप्रदान गर्नभन्दै मन्त्री अर्यालले घरमा बोलाएर रकम वितरण गरेको त्यहाँ सहभागी एक जना पत्रकारले सुनौलो नेपाललाई जानकारी दिएको समाचारमा उल्लेख छ ।
‘रकम वितरण भन्ने थाहा थिएन शुभकामना आदानप्रदान कार्यक्रम भनेर निमन्त्रणा गरिएको थियो’, ती पत्रकारले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, ‘हिँड्ने बेलामा मन्त्री ज्यूको खाजा खर्चभन्दै खाम थमाइएको थियो ।’
ती पत्रकारले समग्र पत्रकारिताको क्षेत्रमा काम गर्नु राम्रो भए पनि ब्यक्ति छानीछानी घरमा बोलाएर पैसा वितरण गर्नुले पत्रकार कतै किनबेचमा त परेका छैनन् भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।
अर्याल स्याङजा जिल्लाको क्षेत्र २ बाट निर्वाचित हुन् । उनी बेलाबेला विभिन्न विषयमा चर्चा र विवादमा आइरहन्छिन् ।
सुनौलो नेपालले मन्त्री अर्यालसँग पैसा वितरण गरेको विषयमा बुझ्न खोज्दा पहिले अस्विकार गरेकी थिइन् ।
‘पैसा वितरण गरेको प्रमाण हामीसंग छ’ भनेपछि मन्त्री अर्यालले रकम दिएको स्वीकार गरेकी थिइन् । उनले पत्रकार महासंघलाई दैनिक प्रशासनिक खर्चमा सहयोग होस् र भवन बनाउने कुरा पनि आएकोले आफूले महासंघलाई सहयोग गरेको बताएकी छिन् ।
मन्त्री अर्यालले दुई लाख रुपियाँ दिएको स्रोत भने खुलाएकी छैनन् । रिपब्लिका दैनिकले पनि पैसा वितरण गरेको विषयमा बुझ्न अर्यालको मोबाइलमा सम्पर्क गरेको थियो । मन्त्री अर्यालले आफू व्यस्त रहेको भन्दै कुरा गर्न मानिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया