कांग्रेसले यस्ताे बनायाे चीनले सीमा मिचेकाे रिर्पाेट

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस प्रदेश सभा संसदीय दल कर्णाली प्रदेशका नेता श्री जीवनबहादुर शाहीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि र पत्रकारहरु समेत सम्मिलित टोलीले नेपाल र चीन बीचमा रहेको सिमामा गरेको स्थलगत निरिक्षणबाट प्राप्त निष्कर्ष तथा फिल्ड प्रतिवेदन २०७७

खण्डः १

क. पृष्ठभूमिः

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटवाट झण्डै ५० कोष टाढा पर्ने लिमी सहित हिल्सा,किटमा नेपाल र छिमेकी चिनको सिमानामा ५ देखी १२ नं सिमा स्तम्भहरू रहेका छन् । किट भन्ने स्थानमा ५(१),५(२),६(१),६(२),७ (१) नं पिल्लरहरू रहेका छन्।८,९ र १० नं सिमा स्तम्भहरू हिल्सामा रहेका छन् ।११ नं स्तम्भ टाकुल्ले चुचुरोमा ५२०२ मिटर उचाइमा रहेकोछ ।१२ नं पिल्लर रहेको स्थान साबिकको लिमी गा.वि.स. र हाल नाम्खा गाँउपालिका वडा नं ६ को लाप्चा भञ्ज्यागंमा अवस्थित रहेकोछ ।जुन समुन्द्रि सतह भन्दा ५०१८ मिटर उचाइमा छ भने हाल १२ नं सिमा स्तम्भ रहेको लाप्चा नजिकै लोलुङजोङमा चिन सरकारले नेपाली भूमि अतिक्रमण गरी आफ्ना भौतिक संरचनाहरू निर्माण गर्नुका साथै उक्त स्थान भन्दा झण्डै २ कि.मि. टाढा मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाइ समेत आफ्नो भूभाग दावी गरे पछि विवाद सृजना भएको र छिमेकी चिन सरकारवारे हुम्ला र सिमामा रहेका बासिन्दाहरूमा नयाँ वहश उत्पन्न भएकोछ ।

सन् १९६२।६३ मा दुबै पक्ष विच विवाद भए पश्चात गप्पुदोचा स्थित पानी ढलोमा सहमती भइ सन १९७६ मा भएको नेपाल र चिन सिमाना सम्बन्धी सन्धी अनुसार अगष्ट १,१९८२ मा सिमा नक्शा अनुमोदन भएको हो ।पछिल्लो समय हुम्ला जिल्लाको नाम्खा गाँउपालिका अन्तगत वडा नं ६ लिमीको लाप्चा भञ्ज्यांगमा रहेको नेपाली भूभागमा चिन सरकारले भौतिक संरचना निर्माण गरे पश्चात सिमा सम्बधी विवादहरू सतहमा आएको हो। चिन सरकारले नेपाली भूभाग अतिक्रमण गरेको स्थानीयवासिन्दाहरूको गुनासोपछि हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको टोली उक्त सिमा क्षेत्रमा एकिन गर्न स्थलगत निरिक्षणमा गएको थियो ।तर, उक्त टोली सिमावाट सदरमुकाम फिर्ता भएर बास्तविक प्रतिवेदन सरकारलाइ नबुझाउदै चिनियाँ दुतावासको विज्ञप्तिको सारलाइ हुबहु मिल्ने गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयवाट हतारमा चिनले नेपालको एक इन्च भूभाग समेत नमिचेको विज्ञप्ती जारी भए पश्चात स्थलगत टोलीवाट समेत उक्त सिमा वारे कुनै जानकारी दिन हिच्किचाएको अवस्था र सम्बन्धित निर्वाचन क्षेत्रको हैसियतमा हुम्लामा गरिएको सर्वदलिय बैठकमा समेत ठोस निष्कर्ष निकाल्न नसकिए पछि वास्तविक तथ्यलाइ सार्वजिनक गर्न मिति २०७७ असोज १४ गते सदरमुकाम सिमकोटवाट जनप्रतिनिधी,पत्रकार सहितको टोलि स्थलगत निरिक्षणमा गएको थियो ।करिव ११ दिन सम्म हुम्ला जिल्लाको उत्तरी भूभागमा रहेका ५ देखी १२ नं सिमा स्तम्भ रहेका सबै स्थानहरूको स्थलगत निरक्षण तथा स्थानीय बुढापाका बासिन्दाहरूको राय,अनुभव र स्थानीयहरू संग गरिएको छलफलका आधारमा निष्कर्ष सहित यो प्रतिवेदन तयार गरिएकोछ ।

ख. उद्देश्यः

१. चिन सरकारले नेपाली भूमिमा निर्माण गरेको संरचनाका सम्बन्धमा देखिएका विवाद वारे सत्य तथ्य एवं वास्तविक पत्ता लगाउने र नेपालि भूमि फिर्ताका लागि सरकारलाइ सुझाव सहित दवाव सृजना गर्ने ।

ग. अबलम्वन गरिएका विधि एवं प्रक्रियाः

१. सिमा स्थलमा स्थलगत निरिक्षण, पुराना पाका स्थानीयवासीहरूको अनुभव संकलन, चिन र नेपालले सिमा सन्धी अनुसार अनुमोदन गरेको नक्शा, लिमी र हिल्साका स्थानीय वासिन्दाहरू संग अन्तर्क्रिया र छलफल,जि.पि.एस. प्रविधीप्रयोग।

घ. अवधीः

सिमा विवाद सम्बन्धी विषयमा स्थलगत अवलोकनवाट निष्कर्ष निकाल्नका लागि झण्डै मिति २०७७ असोज १४ देखि २४ गते सम्म जम्मा ११ दिनको समय लागेकोछ ।

ङ. स्थलगत अवलोकन टोलीका मुख्य सदस्यहरूः मा० जीवन बहादुर शाहीको नेतृत्वमा श्री रीता शाही संविधान सभा सदस्य,श्री जयपती रोकाया ने.का. हुम्ला पाटी सभापति, श्री कैलाश भण्डारी ने.का. हुम्ला पाटी उपसभापति,श्री पदम बहादुर लामा महासमित सदस्य एवं सिमकोट गाँउपालिका अध्यक्ष,श्री कर्ण वहादुर रावल महासमित सदस्य एवं खार्पुनाथ गाँउपालिका अध्यक्ष,श्री पेमा लामा नाम्खा गाँउपालिका उपाध्यक्ष, श्री तक्दीर लामा महाधिवेशन प्रतिनिधी,बिजय बोहरा महिला संघ हुम्ला अध्यक्ष,श्री राजन रावत पत्रकार,श्री जनक वहादुर शाही पत्रकार सहितको टोली सदस्यहरूको उपस्थिति रहेको थियो ।

ङ. स्थलगत टोलीवाट सम्पन्न भएका क्रियाकलापहरूः

१. मिति २०७७ साल १६ गते ५०१८ उचाइमा रहेको १२ नं स्तम्भ रहेको स्थान लाप्चा भञ्जयांगमा स्थानीय लिमीका बासिन्दा,जनप्रतिनिधीहरूको उपस्थितिमा स्तम्भ र चिन सरकारले लोलुङजोङ्गमा निर्माण गरेका भौतिक संरचनाहरूको स्थलगत निरिक्षण गरिएको थियो।

२. चिनले संरचना निर्माण गरेको स्थान लोलुङजोङ्ग क्षेत्र वरिपरिको स्थलगत अनुगमन भएको थियो।

३. चिनले संरचना निर्माण गरेको स्थान लोलुङजोङ्ग क्षेत्र,पानी ढलो रहेको क्षेत्र सम्बन्धमा स्थानीय हल्जी,जाङ्ग र तिल गाँउका बासिन्दाहरू संग २ दिन सम्म अन्तरक्रिया र छलफल गरिएको थियो ।

४. मिति २०७७ असोज २१ गते ५२०२ मिटर उचाइमा रहेको ११ नं पिल्लर रहेको स्थान टाकुल्ले चुचुरोमा पुगी स्थलगत अवलोकन गिरयो ।

५. मिति २०७७ असोज २२ गते स्थानीय वासिन्दा,सुरक्षाकर्मि र जनप्रतिनिधीको उपस्थितिमा ५(१), ५(२), ६(१) सिमा स्तम्भ रहेको स्थान किट, ७(१) शेर अगाढीको स्थान, ८(१) ९(१), ९(२) र १० नं पिल्लर रहेको स्थान हिल्साको स्थलगत अनुगमन गरियो ।

६. मिति २०७७ असोज २३ गते उक्त सिमा स्तम्भ र नेपाली भुगोल वारे हिल्साका स्थानीय वासिन्दा र सुरक्षाकर्मि संग छलफल गरियो ।

७. स्थलगत निरिक्षणवाट सिमा स्तम्भ वारे पहिचान भएका सम्पूर्ण विषयवस्तुको फोटो र भिडियो माध्यमवाट अभिलेखिकरण गरियो ।

८. स्थानीय बासिन्रदा,जनप्रतिनिधि,बुढापाका व्यक्तिहरू संग पुरानो सिमा,चरिचरन आदि वारेमा अन्तर्वाता लिइ भिडियो अभिलेखिकरण गरियो ।

खण्डः २

क. निष्कर्ष एवं सारंशः

स्थलगत निरिक्षणमा भएका गतिवधीहरूवाट निम्न निष्कर्षमा पुगिएकोछ ।

१. चिन सरकारले लोलुङजोङ्गमा निर्माण गरेका भौतिक संरचनाहरू नेपाली भूभाग भित्र रहेकोछ ।यस अर्थमा चिनवाट नेपाली भूभाग अतिक्रमण भएको पाइयो।

२. गप्पुदोचादेखि नेपालले निर्माण गरेको झण्डै २ कि.मि. सडक खण्डलाइ चिनले अतिक्रमण गरेको पाइयो ।

३. लाप्चा भञ्जायंमा नयाँ निर्माण गरिएको १२ नं सिमा स्तम्भको एलाइन्टमेन्ट पुरै परिवर्तन गरिएको पाइयो जुन चिनले नेपाल सरकारलाइ थाहा नै नदिइ करिव करिव ६ महिना पहिले मात्र निर्माण गरेको पाइयो ।

४. लिमीको टाकुल्ले चुचुरोमा रहेको ११,१० नं स्तम्भको अवस्थालाइ अध्ययन गर्दा उक्त स्थानमा सिमा अतिक्रमण भएको देखिएन ।

५. चिनले आफ्नो दशगजा नियम विपरित हिल्सा सिमामा रहेको ९(२) सिमा स्तम्भको विच रेखामा तारबार तथा गेट निर्माण गरेको पाइयो ।जबकी नेपालले सिमा स्तम्भ भन्दा झण्डै ३० मिटर टाढा आफ्नो गेट निर्माण गरेको पाइयो ।

६. किट भन्ने स्थानमा रहेका सिमा स्तम्भहरू क्रमश ५(१) र ५(२) लाइ तारबार गरी आफ्नो क्षेत्रमा राखेको पाइयो भने पुरानो ५(२) नं जंगी स्तम्भलाइ उखेली हाल एक लौटी नयाँ बनाएको पाइयो ।

७. नयाँ निर्माण गरिएका सिमा स्तम्भहरू र पुराना सिमा स्तम्भहरूको बनावट तथा अक्षरका लिपी समेत फरक फरक रहेको पाइयो ।

ख. निष्कर्षका लागि रहेका प्रमाण तथा ठोस आधारहरूः

१. गप्पुदोचा रहेको पानी ढलालाइ आधार मानी नेपाल र चीन सरकारले सन १९८२ मा अनुमोदन गरेको सिमा नक्शा ।

२. चिनले एकलौटि पुर्निर्माण गरेको १२ नं पिल्लरको नयाँ ओरेन्टेसन र नयाँ लिपी।

३. पुराना बुढापाका स्थानीय लिमीका बासिन्दाहरूको अनुभव तथा भनाइ ।

४. एक पक्षीय रूपमा निर्माण गरिएको १२ नंस्तम्भको आकार, पोतिएको रंग र स्तम्भ वरिपरि पुरानो स्तम्भ भत्काइएका सिमेन्टका अवशेसहरू ।

५. सिमा स्तम्भहरूमा कोरिएका फरक फरक देवनागरीलिपी ।

६. २०५८।०५९ सालमा साविक जिल्ला विकास समितिवाट रू १ लाखमा सुरू भएको सडक र २०६६ सालमा चीनका उच्च अधिकारीको रोहवरमा गगप्पुदोचावाट निर्माण भएको सडक खण्ड।

७. २०६६ सालमा सडक निर्माण गर्दा चीनको उच्च स्तरीय टोलीवाट ग्यापुदोसामा रहेको पानी ढलोलाइ नेपालको सिमाना मानी सडक निर्माण गर्न दिएको अनुमति।

८. गप्पुदोचा र लोलुङजुङ्ग क्षेत्रवरिपरि लिमीका स्थानीयले चरिचरनका लागि भोगचलन गरेकोऐतिहाँसिक तथ्य र निर्माण गरेका खरकहरू।

९. चिनले तारबार गरि आफ्नो भूभाग भित्र समेटेर राखेका हुम्ला जिल्लाको किटमा रहेका ५(१), ५ (२) र ६ (१) का नेपाली स्तम्भहरू ।

१०. हिल्सामा रहेको ९(२) नं सिमा स्तम्भमा नै निर्माण भएको चिनिया घेरबार गेट।

११. किटमा रहेको ५(२) को पुरानो जंगे स्तम्भलाइ ढालेर खोलामा फाली फरक संरचना र लिपीमा निर्माण भएको ५(२) को नयाँ पिल्लर।

१२. सिमा अवलोकन गर्ने क्रममा नेपाली भूगोलमा चिनवाट गरिएको अभद्र व्यवहार जस्तैः सिमा निरिक्षण गर्दा नेपाल प्रहरी र शसस्त्रको टोलीलाइ ढुंगा प्रहार, स्थलगत अध्ययन गर्न गएको संसदीय टोली माथि अश्रु ग्याँस प्रहार, सिमा बन्द गर्ने धम्कीहरू।

१३. चीनले हाल निर्माण गरेका संरचना रहेको स्थान लोलुङजोङ्ग भन्दा ३० मिनेटको अवधी टाढा दुरीवाट जि.पि.एस. म्यापिङ गर्दा झण्डै ८०० मिटर टाढाभूभागनेपाली भूभाग देखिनु।

१४. हुम्लाको किटमा नेपाली भूभागमा रहेका ढुंगा उपयोग गरी निर्माण गरिएको तटबन्धन र नेपाली भूभाग तिर फर्काइएको पानी।

१५. कैलाश पर्वत र मानसरोवर दर्शन गर्ने स्थान सम्म चीनले आफ्नो भूमि भएको भन्दै गरिएको दाबी ।

१६. चीनरनेपाल बिचलाप्चामा रहेको १२ नं पिल्लर भन्दा करिब १ किलो मिटर भित्र पिल्लर नपुग्दै देखाइने अन्तराष्ट्रिय सिमा रेखा ।

१७. लिमीभ्यालीको अधिकांश स्थान र हिल्सा बजार,नारा सम्म देखिने चाइनिज समय ।

१८. चीनबाट नेपाली भूभाग किटमा रहेको जग्गा नेपालीले प्रयोगमा ल्याउन गरिएको बन्देज र आफ्नो १ इन्च भूभाग छुन गरिएको कडाइ ।

ग. सुझाव तथा सिफारिसहरूः

१. नेपाल सरकारले स्थानीय तहका जनप्रतिनिधीहरू सहित स्थानीयवासीहरूको उपस्थितिमा सिमा विज्ञ,नापी टोलि,सुरक्षा निकाय,परराष्ट्रका प्रतिनिधीहरू सम्वन्धित स्थानमा पुगी नक्शा लिइ भिडाएर वर्तमानमा देखिएको सिमा विवादलाइ तत्काल टुंगोमा पुरयाइ स्थायी समधान गर्नु पर्ने देखिन्छ ।

२. सिमा विवादका कारण सिमावासीमा मनोबैज्ञानिक असर पर्न गएको हुँदा आफ्ना नागरिककको जिउधन सुरक्षा तथा सम्पूर्ण व्यवस्थापनका लागि नेपाल सरकारले आवश्यक कार्य गर्नु पर्ने देखिन्छ।

३. चिन सरकारवाट प्रत्येक सिमा स्तम्भमा सुरक्षा वेस क्याम राखेकाले नेपाल सरकारवाट पनि आफ्नो भुमिको सुरक्षाका लागि सिमा स्तम्भ रहेका स्थानहरूमा सिमा सुरक्षा क्याम खडा गर्नु पर्ने देखिन्छ ।

धन्यवाद

Published : Wednesday, 2020 October 14, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया