सभामुखका भतिजा तस्कर छुटाउन सक्रिय, नक्कली भ्याटबिल काण्डले खैलाबैला, ‘कृष्ण’ फरार

बाह्रबिसे । सिन्धुपाल्चोकमा नदीजन्य उत्खननमा सरकारले बनाएको मापदण्डलाई लत्याउँदै राजनीति दलको आडमा बालुवा तस्करी हुने गरेको पाइएको छ । हरेक वर्ष असारदेखि भदौ महिनासम्म नदीबाट बालुवा र ढुंगागिट्टी या अन्य उत्खनन समेत गर्न पाइँदैन ।

यसरी निकालेको पाइएमा कानूनअनुसार कैद र जरिवानासमेत गराउने र निकाल्न प्रयोग हुने मेसिन, स्काभेटर, डोजर या अन्य कुनै पनि उत्खननको लागि प्रयोग गरिने औजार जफत गर्ने कानूनी व्यवस्था छ ।

राजनीति दलहरूको संरक्षणमा रातभर बालुवा निकाल्ने गरेको पाइएको छ । सिन्धुपाल्चोकको तीन वटा नदी बलेफी, भोटेकोशी, सुनकोशीको सुकुटे र इन्द्रावतीका विभिन्न स्थानमा बालुवा तस्करीको एउटा समूहले राजनीति संरक्षण र जिल्ला प्रशासन कार्यालयको सेटिङमा निर्वाध रुपमा रातभर बालुवा निकालेर बिक्री गरेको बालुवाको रहस्य बाहिरिएको छ ।

सिन्धुपाल्चोकमा तस्करको समूहले नक्कली भ्याट बिलमार्फत् काठमाडौं तस्करी गर्ने गरेको पाइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ र पूर्वसांसद एवम् नेकपाका नेता शुभाष कर्मचार्यको संरक्षणमा रातभर बालुवा निकाल्ने गरेको स्रोतको भनाइ छ । ‘सुबोध’ सभामुख अग्नि सापकोटाका भतिजा हुन् ।

अवैध रुपमा बालुवा निकाल्ने मात्र नभई उक्त समूहले राजस्वसमेत छलि गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एकैचोटी २८ वटा टिपर नियन्त्रणमा लिएपछि अवैध बालुवा चोरी गरि निकाल्नेहरूको रहस्य खुलेको हो ।

नेकपाका नेता सापकोटा र कर्मचार्यले राजनीतिक संरक्षण दिएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले समेत कुनै चासो देखाएका छैनन् ।

राजनीतिक दलको संरक्षणमा ठेकेदारले अवैध रुपमा खोलामा स्काभेटर लगाएर बालुवा तथा ढुंगागिट्टी निकाल्न थालेपछि स्थानीयले समेत प्रहरीलाई खबर गर्न थालेको एक स्थानीयले बताएका छन् ।

अबैध रुपमा निकालेको बालुवा राजधानी लैजान समस्या देखिएपछि विकास श्रेष्ठ भन्ने कृष्ण श्रेष्ठले नक्कली भ्याट बिल प्रयोग गरि प्रतिटिप्पर एक हजार असुलेको समेत टिप्पर व्यवसायीहरूले बतएका छन् ।

टिपर व्यवसायीहरू भन्छन्, ‘हामीले बालुवा किनेर राजधानी लैजान त्यस्तो केहि गरेको छैन, तर विकास श्रेष्ठ सप्लार्यसले हामीलाई प्रहरी चेकजाँचबाट उम्कनको नक्कली भ्याट बिल दिने गरेका छन् ।’

नेकपाका केन्द्रीय सदस्य सापकोटा र पूर्व सांसद कर्मचार्यले नक्कली भ्याट बिल प्रयोग गरि राजस्व छली गर्ने विकाश श्रेष्ठ सप्लार्यसलाई बचाउनको लागि समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई दबाब दिइरहेको स्रोतले जनाएको छ । श्रेष्ठ अहिले सापकोटा र कर्मर्चायका निकट छन् ।

प्रहरीले बालुवा बोकेर राजधानी जाँदै गरेको टिप्परको भ्याटबिल चेकजाँच गर्ने क्रममा यसरी राजस्व छली र गैरकानूनी काम गर्नेमा ‘कृष्ण’ भन्ने विकास श्रेष्ठ नेतृत्वको टोली रहेको पाइएको प्रहरीले बताएको छ ।

उनीहरूले फरक–फरक भ्याट बिल काटेर काठमाडौं पठाउने गरेका थिए । प्रहरीले एकै ठाउँबाट बालुवा ल्याउँदा पनि फरक–फरक बिल देखेपछि शंका लागेर टिपर नियन्त्रणमा लिएको थियो ।

अहिले श्रेष्ठको नेतृत्वमा विल काटिएको ६ वटा गाडी भने जिल्ला समन्वय समितिको निगरानीमा रहेको छ । ६ वटा टिप्परलाई दिइएको बिल नक्कली भएको खुलेपछि नेताद्वय सापकोटा र कर्माचार्यले श्रेष्ठलाई बचाउन समन्वय समितिका प्रमुख र जिल्ला प्रशासन कार्यालयमा विभिन्न दबाब दिन थालेका छन् ।

नियन्त्रणमा लिइएको टिपर भने अहिले अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा छन् । उनीहरूले काटेको भ्याट बिल नक्कली प्रमाणित भएमा राजस्व चुहावट आकर्षित हुने भन्दै सोहीअनुसारको कारबाही अगाडि बढ्ने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक प्रहरी भन्छन्, ‘हामीले कार्बाही गर्न मिल्दैन कारबाही गर्ने अधिकार जिल्ला समन्वय समितिलाई भएकाले राजस्व पठाउने या यहि कर्बाही गर्ने विषयमा छलफल भइरहेको छ ।’

टिपर नियन्त्रणमा लिएपछि सप्लायर्स विकाश श्रेष्ठ भने फरार भएका छन् । दुई महिनादेखि जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला प्रशासन कार्यालयलाई यो बारेमा जानकारी भए पनि मौन बसेको स्थानीयहरूको आरोप छ ।

सेटिङमा निकालिएको तस्करी बालुवा सप्लाइ गर्दा नक्कली भ्याटबिल प्रयोग गर्दै राजस्व छली गर्ने श्रेष्ठको खोजी प्रहरीले खोजी तीव्र पारेको छ ।

Published : Saturday, 2020 September 5, 6:49 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया